
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताको सफल कार्यान्वयनका लागि तीन तहका सरकार मिलेर जानुको विकल्प नभएको बताएका छन् । संघीयता मधेश प्रदेशलाई नै अति आवश्यक भएकाले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारले कामकाज गरिरहेको उनको भनाइ छ ।
जनकपुरधाममा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र नेपाल कानुन समाजले संयुक्त रुपमा गरेको प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
विगत २५ वर्षको बहुदलीय व्यवस्थामा मधेश प्रदेशको विकासका लागि खास कामकाज नभएको भन्दै संघीयता लागु भएको केही वर्षमै मधेशले सोचे भन्दा बढी फड्को मारेको उनले दाबी गरे । मधेश प्रदेश सरकारले निर्माण गरेको कार्यविधिअनुसार आउने दिनमा स्थानीय तहलाई सःशर्त अनुदान वितरण गर्नुको साथै प्रदेशको बजेट बनाउँदा स्थानीय तहसँग छलफल गरी अघि बढ्ने मुख्यमन्त्री यादवले प्रतिबद्धता व्यक्त गरे ।






