
मधेशदृष्टि
वीरगंज ।
आरती साहका परिवारले सहमतिअनुसार माग पूरा नभए पुनः संघर्षमा उत्रिने चेतावनी दिएको छ । आरतीकी आमा निर्मलादेवी र दाइ प्रेम साहले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । न्यायिक संघर्षमा पूर्व सहमतिअनुसार राज्य पक्ष इमान्दर भइदिन उनीहरुले आग्रह समेत गरेका छन् ।
पूर्व सहमतिमा उच्चस्तरीय छानबिन गरी पुरक प्रतिवेदन तयार पार्ने उल्लेख छ । छानबिन सुरू नहुँदै आरोपीलाई धरौटीमा छोड्ने निर्णयप्रति परिवारले आपत्ति जनाउँदै परिवारलाई झनै दुःखि बनाएको उनीहरुको भनाइ छ । आरती साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १० महिनादेखि परिवारका सदस्यहरूले संघर्ष गर्दै आइरहेका थिए ।
२९ फागुनमा गृह मन्त्रालय र पीडित परिवारबीच ५ बुँदे सहमति भएपछि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएको थियो ।






