
मधेशदृष्टि
बारा ।
निजगढ विस्फोट घटनामा दोषी देखिएका सबै जनालाई जिल्ला अदालत बाराले धरौटीमा रिहा गरेको छ । बम विष्फोटमा दोषी देखिएका निजगढ–९ का कवाडी पसले राज भनिने रमेश जयसवाल, धारापानीबाट विष्फोटक पदार्थ ट्रकमा राखेर ल्याउने ना ५ ख ९७२७ का ट्रक चालक निजगढ–९, नदीकट्टाकै बासु लामा र सहचालक टीकाराम पाख्रिन जनही १ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
बुधवार अदालतले धनुषा, धारापानीका कवाडी पसले शिवशंकर माली र कबाड सामान संकलक सर्लाहीका बिल्टु महतोलाई पनि जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । न्यायाधीवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार निजगढ नगरपालिका–९ मा कबाडी सञ्चालन गरी बसेका भारत, मोतिहारी घर भएका राज भनिने रमेश प्रसाद जयसवाल, कबाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रकचालक निजगढ नगरपालिका ९ स्याङ्तान टोलका ४२ वर्षीय बासु तामाङ, सोही ठाउँका सहचालक २५ वर्षीय टीकाराम पाख्रिन, धनुषा गणेशमान चारनाथ नगरपालिका–२ स्थित न्यू शिव स्क्र्यापका सञ्चालक सर्लाही, चक्रघट्टा गाउँपालिका–१ का ४१ वर्षीय शिवशंकर साह, कबाडी संकलक सर्लाही ईश्वरपुर नगरपालिका–७ का ४६ वर्षीय बिल्टु महतोलाई जनही १ लाख रुपैया धरौटी लिएर रिहा गर्ने निर्णय गरिएको हो । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्र्दा दर्ता गरी चैत ११ गते बारा जिल्ला अदालतमा पेश गरिएको थियो ।
ग्यारेजमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए । कवाडी पसले रमेशले लगेको बस्तु काट्ने क्रममा फागुन १४ गते भएको विष्फोटमा निजगढ–७ स्थित रोहित वर्कशप सञ्चालक ४३ वर्षीय रेशम मगर, रौतहट, देवाहीगोनाही नगरपालिका वडा नम्बर ९ का २० वर्षीय रिपु रजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो । घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ–५ का रामबहादुर थापा र वीरगंज महानगारपालिका–९ का फिरोज देवान घाइते भएका थिए ।






