एसईई : रौतहटमा परीक्षा हलबाट पाँच सय बढी मोबाइल बरामद

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानिय प्रशासनले दोस्रो दिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रबाट पाँच सय थान भन्दा बढी मोबाइल बरामद गरेको छ । यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठसहितको टोलीले परीक्षा केन्द्रहरूमा गरेको अनुगमनको क्रममा उक्त मोबाइल बरामद गरेको हो ।

केन्द्राध्यक्ष, निरीक्षक, अभिभावक परीक्षार्थीको मिलोमतोमा परीक्षामा अमर्यादित गतिविधि भइरहेको सूचनाको आधारमा गौरस्थित जुद्द मावि, मावि टिकुलिया, सरवस्ती मावि पिपरा, मावि ब्रहमपुरी, मावि मूडवलवा, शंकर मावि सरमुजवा, ब्रहमज्योति मावि लौकाहा, मावि गरुडा, मावि समनपुर, मावि कटहरिया, कंकाली मावि जंगलसैया, मावि बरजगवा, जयकिसान मावि धरहरी, मावि जुडिबेलालगायत जिल्लाको १८ स्थानीय तह अन्तर्गत ३१ वटा परीक्षा केन्द्रमा अनुगमनको क्रममा परीक्षार्थीबाट पाच सय थान भन्दा बढी मोबाइल बरामद गरिएको टोलीमा सहभागी जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् । बरामद मोबाइलहरु जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको तथा एसईई परीक्षा सकेपछि सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने प्रवक्ता गिरीले जानकारी दिइन् ।

शुक्रवार पहिलो पटक मोबाईल फेला परेका परीक्षार्थी र केन्द्राध्यक्ष लगायत निरीक्षकहरुलाई सम्झाई बुझाई अब परीक्षा हलभित्र मोबाइल फोन नल्याउन भनिएकोले पुनः अनुगमनको क्रममा फेला परेमा परीक्षा ऐन अनुसार कारबाही गरिने प्रहरी प्रवक्ता डिएसपी गिरीले चेतावनी दिइन् । रौतहट स्थित जारी एसईई परीक्षामा कारागार र प्रहरी हिरासतबाट एक एकजना परीक्षार्थी सहभागी भएका छन् । एकजना जिल्ला कारागार गौर र अर्का एकजना परीक्षार्थी लागू औषध मुद्दामा रहेका इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामा प्रहरीको हिरासतबाट एसइईमा परीक्षामा सहभागी भएका हुन् । त्यस्तै एक जना दृष्टिविहीन परीक्षार्थी पनि परीक्षामा सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाइ रौतहटले जनाएको छ ।

रौतहटमा ४५०८ छात्रा र ४९६१ छात्र गरि जम्मा ९४६९ परीक्षार्थी रहेकोमा शुक्रबार भएको अनिवार्य नेपाली विषयको परीक्षामा १२० छात्र र १४७ छात्रा गरी कुल २६७ परीक्षार्थी अनुपस्थित भएको शिक्षा समन्वय ईकाई प्रमुख रामबिनय कुमार सिंहले जानकारी दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार जिल्लाको ३९ वटा परीक्षा केन्द्रहरूमा एसईई परीक्षा सञ्चालन गरिएको शिक्षा समन्वय ईकाई जनाएको छ ।

बिगतको केही वर्षदेखि रौतहट स्थित एसईई परीक्षा सञ्चालन हुँदा अभिभावकहरुले खासै ध्यान दिएका थिएनन् । तर यस पटक जिल्लाको प्रायः सबै परीक्षा केन्द्रको छेउछाउमा परीक्षा हेर्ने अभिभावकहरुको भीड लागेको देखिएको छ । वर्षभरी बिद्यालयहरुमा पढाई नहुँदा स्थानिय प्रशासन तथा जनप्रतिनिधिले चासो नराख्नेहरु अहिले अनुगमनको नाउँमा परीक्षार्थीलाई अनावश्यक दुःख दिने गरेको कतिपयले बिरोधसमेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button