प्रजातन्त्र सेनानी मथुराको स्मृतिमा कार्यक्रम

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
नेपाली लोकतान्त्रिक आन्दोलनका अविस्मरणीय योद्धा प्रजातन्त्र सेनानी मथुरा प्रसाद उपाध्यायको २७ औँ पुण्यतिथि विभिन्न कार्यक्रमसहित मनाइएको छ । शुक्रबार बिहान जानकी वृद्वाश्रममा नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ ले फलफूलसहितको राहत सामग्री वितरण गरेको छ । वडा सभापति सञ्जय प्रसाद साहको अगुवाईमा पूर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादवसहितको विशेष उपस्थितिमा वृद्वाश्रमकी आमालाई राहत सामग्री वितरण गर्दै वृद्वाश्रमको वृहत हित, संरक्षण र विकासका लागि छलफल गरिएको छ । पूर्वमन्त्री यादवले जनकपुरधामको २५ वटै वडाबाट प्रतिनिधित्व गर्ने योद्वाहरुको स्मरणमा विभिन्न कार्यक्रम गर्न समिति नै बनाएर अगाडि बढ्नुपर्ने बताए ।

वृद्वाश्रमका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले वृद्वाश्रमको अवस्थाबारे प्रकाश पारेका थिए । प्रदेश सदस्य जीवनाथ चौधरी, जिल्ला उपसभापति गणेश झा, युवा नेता प्रवेश चौधरी, सुरेश कोइराला, प्रमिला दास, प्रेस युनियनका नेता शैलेन्द्र झासहितको उपस्थिति थियो । त्यसैगरी, जनकपुरधामको वडा नम्बर ११ स्थित मनकामना सिद्व हनुमान मन्दिर प्राङ्गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वक्ताहरुले उपाध्यायले २०२८ सालदेखि २०३९ सालसम्म जनकपुरको नगरसभापतिको रुपमा पार्टीमा खेलेको भूमिका र त्यसबेलाको संगठन विस्तारको प्रशंसा गर्दै अहिले कांग्रेस भगवानभरोसे चल्ने गरेको बताए ।

जनकपुरधामका वर्तमान नगरसभापति तथा मेयर मनोज कुमार साहले जनप्रतिनिधि र कांग्रेसका वडा समितिबीच कुनै पनि समन्वय हुन नसक्दा संगठन सुस्त भएको बताए । एकाध वडाबाहेक कुनै पनि वडामा जनप्रतिनिधि र पार्टीबीच समन्वय हुन नसकेको उनले बताए ।
धनुषा पार्टी उपसभापति गणेश झा, पूर्व नगरसभापति धिरेन्द्र मोहन झा, बस व्यवसायी संघका अध्यक्ष तथा नेता मनोज चौधरी, पेट्रोलिय डिलर्श एसोसिएसनका अध्यक्ष किशुनदेव साह, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, उपाध्यायका सुपुत्र नेता प्रफुल्ल राज घिमिरेसहितकाले उपाध्यायले उठान गरेका सामाजिक मुद्दा र पार्टीको संगठनात्मक विस्तारको बाटो अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वक्ताहरुले उपाध्याय जस्ता पार्टी र समाजका लागि योगदान दिएका महान व्यक्तित्वको स्मरणमा गर्नुपर्ने कार्यक्रमहरुका लागि सबै वडा समिति सक्रिय हुनुपर्ने बताए । वडा सभापति संजय प्रसाद साहले विभिन्न व्यक्तित्वलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button