मकैमा दाना नलाग्दा किसान चिन्तित

[mashshare]

मधेशदृष्टि
बारा ।
धान काटेर मकै रोपेका किसानहरू मकैमा दाना नलागे पछि चिन्तित बनेका छन् । गत वर्ष अन्य मकैको तुलनामा राम्रो आन्म्दानी हुने ९०८१, पाईनियर ३३५५, शंकर ५५५५ जातको मकैमा दाना नलागे पछि किसानहरू धमाधम काटेर गाई भैसीलाई खुवाउन बाध्य भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का किसान भुवन वाग्लेले बताए । उनी भन्छन्, ‘मकैको बोट हेर्दा गतिलो छ, घोगा देख्दा लोभलाग्दो छ तर दाना छैन, दाना लागेकोमा पनि धोते छ ।’

मकैमा समस्या देखिए पछि केही दिन अघि मधेश प्रदेशको कृषि मन्त्रालयबाट आएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा अनुगमन गरेको कृषि ज्ञान केन्द्र कलैयाका कृषि प्रसार अधिकृत राम जीवन ठाकुरको भनाइ छ । तर, वडा नम्बर १४ का वडा अध्यक्ष चयन गुरूङले भने मकैमा समस्या देखिए पछि वडामा अनुगमनको लागि कोही पनि नआएको र अनुगमनमा आएको प्रचार मात्रै गरिएको बताए ।

अर्का किसान यज्ञ तिवारीले किसानका समस्याका स्थानीय र प्रदेश सरकारले ध्यान दिन नसकेको गुनासो गरे । मकैको घोघामा दाना नलाग्ने समस्या हरेक वर्ष दोहोरिने गरेको भए पनि किसानले राहत नपाएको उनको भनाइ छ । अर्का किसान उद्दब नेपालले किसानका लागि आएको अनुदानमा पनि नेताका आसेपासेकै हालीमुहानी हुँदा वास्तविक किसानले समस्या भोग्नु परेको बताए ।

जितपुरसिमरा वडा नम्बर १६ का किसान नवराज रिमाल पनि मकैमा दाना नलाग्दा चिन्तित छन् । उनले मकैका लागि मल किन्दाको पैसा अझै करिब चालिस हजार रुपैयाँ बाँकी रहेको सुनाए । यसपाली पनि आफूले अनुदानको मल नपाएको उनको भनाइ थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको कृषि शाखामा कति जग्गामा मकै खेती भएको छ भन्ने एकिन तथ्याङ्क समेत छैन । किसानका समस्याका बारेमा सरोकारवाला निकायले चासो नदेखाउँदा आफूहरु समस्या हरेक वर्ष दोहोरिने गरेको किसानहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button