
मधेशदृष्टि
वीरगंज ।
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले चैत २४ गते जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आजपा बागमती प्रदेशले जनआन्दोलन दिवसको अवसरमा भृकुटीमण्डपमा जनप्रदर्शनसहित प्रदेश भेला गर्न लागेको जानकारी दिएको हो । जनप्रदर्शनलाई अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सम्बोधन गर्नेछन् ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ साल चैत २४ गते पुनःस्थापना भएको थियो । ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरणमा चैत २४ गते जनआन्दोलन दिवस मनाइन्छ । आमजनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले जनताको सर्वोच्चतासहित देशमा वास्तविक लोकतन्त्र प्रत्याभूति हरेक जनताले गर्न सकून् भन्ने ध्येयका साथ जनआन्दोलन दिवसका दिन जनप्रदर्शन गर्न लागिएको स्पष्ट पारे । देशमा ‘लोकतन्त्र आएको हो कि लुटतन्त्र आएको हो’ भन्नेमा विरोधाभाष बाँकी नै रहेको उनको टिप्पणी छ ।
आजपा वरिष्ठ उपाध्यक्ष एवम् संविधान सभा सदस्य तिलक थापामगरले देश लुट र भ्रष्टले तहसनहस पारेको बताए । ठूला दलका नेताहरुले बाँडिखाने भन्दा अरु काम हुन नसकेको उनको आरोप छ । जनता निराश भएको र जनताको निराशामा निकास र बदलावका लागि आफूहरु लागिरहेको उनले बताए ।
२०४६ पछिका विभिन्न आन्दोलनको उपलब्धी संस्थागत हुन नसकेको उनको भनाइ छ । २०७२ सालमा संविधान सभामार्फत जारी भएको संविधानले पनि जनता ठग्नेभन्दा बाहेक अर्को कुनै काम गर्न नसकेको उनले बताए । संविधानमा सबै चिज भए पनि जनताले केही पनि पाउन नसकेको उनको भनाइ छ । संविधानले धेरै छोटेराजा जन्माउने काम गरेको टिप्पणी गरे ।
आजपा उपाध्यक्ष अरुण घिसिङले जनआन्दोलन दिवसको सन्दर्भ पारेर बेथिति, भ्रष्टाचार एवम् लुटकारी दलतन्त्रविरुद्ध जनप्रदर्शनसहितको ताम्सालिङ–नेवा प्रदेश भेला सार्थक रुपमा सफल बनाउन आह्वान गरे । आजपा उपमहासचिव ज्ञानेन्द्र तामाङले चैत २४ गतेको जनप्रदर्शन विशिष्ट प्रकृतिको हुने बताए ।
आजपा सचिव देवी पण्डितले देशमा भ्रष्टाचार बढिरहेको र लुटतन्त्र मच्चिरहेको बताइन् । कार्यक्रममा आजपा स्थायी समिति सदस्य तथा उद्योग विभाग प्रमुख सागर पाण्डे, आम आदिवासी जनताजाति मोर्चाका अध्यक्ष पासङ लामा, आइटी आर्मीका सचिव प्रशान्त तिमल्सिना, तामाङ मुक्ति मोर्चाका अध्यक्ष विकेश तामाङ, आम ट्रेड युनियन फेडेरेसनका महासचिव तेजनारायण चौधरीलगायतको उपस्थिति थियो ।






