
मधेशदृष्टि
जनकपुरधाम ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित केही नेतालाई जिल्ला अदालत महोत्तरीले जन्मकैदको सजाय सुनाइसकेको छ । प्रहरी जवान थमन विकको हत्यामा संग्लन रहेको भन्दै अदालतले उनलाई जन्मकैदको फैसला सजाय सुनाएको थियो । सजाय सुनाएसँगै उनी फरार छन् ।
प्रदेश सभाले समेत शर्माको सेवासुविधा रोकेको छ भने उनी कानुनी उपचारका लागि उच्च अदालत जाने तयारीमा रहेको बुझिएको छ । लोसपाले मधेश आन्दोलनक्रममा लगाइएको मुद्दा फिर्ता लिन सरकारमाथि दबाब दिइरहेको अवस्थामा उनीमाथिको फैसलाको पूर्ण पाठ आएको छ । अदालतले घटनामा प्रत्यक्ष संग्लन शर्मासहित प्रदीप साह, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, शंकर शाही भनिने रामशंकर शाही र सुरेश पाण्डेलाई पनि जन्मकैद सजाय सुनाएको छ । त्यसैगरी, घटनाको प्रतिवादी बनाइएका महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोमाथि माग दाबी नपुगेको आदेशमा उल्लेख छ ।
अदालतले फैसलामा भनेको छ, ‘उपर्युक्त बमोजिमको विवेचनाका आधारमा निर्णयतर्फ विचार गर्दा मधेश आन्दोलनका समयमा चारजना आन्दोलनकारीलाई प्रहरीले गोली हानेर मारेको रिस र आक्रोशमा रहेको प्रतिवादीसमेतको समूहले प्रस्तुत मुद्दामा मिति २०७२ असोज २५ गते बिहान ८ः३० बजेका समयमा जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका–४ स्थित संसारीमाई हटिया बजार लाग्ने ठाउँमा प्रहरी थमन विकलाई निशस्त्र रुपमा फेला परेको अवस्थामा प्रतिवादीहरु प्रदीप साह माझी र सञ्जयकुमार साहसमेतका प्रतिवादीका समूहले बाँस, भाटासमेतले निर्मम प्रहार गरी सामुहिक कुटपिट गरी थमन विकलाई घाइते बनाएकामा जलेश्वरस्थित महोत्तरी अस्पतालमा उपचार हुन नसकी उपचारक्रममा थमन विकलाई युएन –६६१–१२३५ नम्बरको एम्बुलेन्समा राखेर लैजाने कुरा अस्पतालबाट प्रतिवादी धर्मेन्द्र राय समेतले खबर गरेपछि प्रतिवादी मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, अभिराम शर्मासमेतका समूहले परकौली चोकमा गई बाटो अवरोध गरी एम्बुलेन्समा ढुङ्गा मुढा प्रहार गरी रोक्न खोजेकामा त्यहाँ नरोकिई अगाडि बढेकामा मूल बाटोबाट जनकपुर जान खतरा भएको महसुस गरी एम्बुलेन्स चालक सुशील मिश्रले सनोखडातर्फको गाउँ हुँदै जाने विचार गरी एम्बुलेन्स कच्ची बाटोमा लगेकामा सो बाटोमा पर्ने कल्भर्ट बिग्रेकाले जान नसकी एम्बुलेन्स रोकिएको मौकामा प्रतिवादीहरुको समूहले एम्बुलेन्सलाई मोटरसाइकलबाट पिछा गर्दै गएपछि एम्बुलेन्सबाट सुरक्षाकर्मी राजकुमार झा र चालक सुशील मिश्रसमेत एम्बुलेन्सबाट झरेर भागेपछि आफू पनि बाँच्ने उपाय खोज्दै बोलेर भाग्दै गरेका घाइते थमन विकलाई घेराउ हाली बाँसका भाटा, लाठी, बियरको बोतलसमेतका घातक चिजबस्तु प्रहार गरी निर्मम तरिकाले कुटेर मारी धान खेतमा फालेपछि प्रतिवादीहरु छाडेर फर्कदा एकजना घाँस काट्ने महिलाले घाइते जिउँदै छ भन्ने सूचना प्रतिवादीलाई दिएपछि पुनः प्रतिवादी फर्केर गई थमन विकलाई नमरेसम्म कुटेर मारी फालेको र थमन विकलाई अस्पतालमा लैजाँदै गरेको युएन–६६१–१२३५ नं. को एम्बुलेन्समा आगो लाएर नोक्सान पारेको देखिन्छ । प्रस्तुत मुद्दामा मृतक थमन विकको मृत्युको कारणमा टाउको गम्भीर चोट पुगेपछि लगातारको रक्तश्राबले भन्ने शव परीक्षण प्रतिवेदन रहेको र लाशजाँच मुचुल्का बेहोरा समेतबाट मृतकको मृत्यु स्वाभाविक नभई निर्मम तरिकाले कुटपिट गरी मारेको तथ्य स्पष्ट देखियो ।’
अदालतले आफ्नो पैसलामा अगाडि उल्लेख गरेको छ, ‘सनोखडाको कच्ची बाटोको खेतमा भएको घटनाको प्रत्यक्षदर्शीको रुपमा रहेका एम्बुलेन्स चालक, घाइतेको साथमा गएका सुरक्षाकर्मी, अस्पतालका कर्मचारीसमेतका व्यक्तिले मौकाको कागजमा यी प्रतिवादी संजय कुमार साह र प्रदीप माझी साहसमेतका व्यक्तिहरुको संलग्नतामा घटना भएको हो भनी घटना विवरण र नाम उल्लेख गरेकामा अदालतमा बकपत्र गर्दा समेत हुबहु रुपमा घटना विवरण उल्लेख गरे पनि घटनामा संलग्न रहेका व्यक्तिहरुको नाम उल्लेख गर्न नचाहेको यस स्थितिमा उक्त बकपत्र कथनलाई पूर्ण रुपमा प्रतिकूल बकपत्र हो भन्न नसकी मुद्दामा संलग्न रहेका अडियो, भिडियो र अन्य सम्बद्ध प्रमाणहरु समेतबाट पुष्टि र समर्थित भएका प्रतिवादीहरु प्रदीप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, अभिराम शर्मासमेतको यस घटना वारदातमा संलग्नतालाई नकार्न मिल्ने देखिएन ।’ जिल्ला अदालतका न्यायाधीश उद्धव भटटराईको इजलासले फैसलामा उल्लेख गरेको छ ।






