मुख्यमन्त्रीद्वारा प्रदेश मन्त्रिपरिषद् विस्तार

एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ

[mashshare]

संघीयता सबलीकरण गर्न आवश्यक पर्ने कानुन तथा सञ्चार क्षेत्रको सबलीकरण गर्न भूमिका खेल्नेछु ।
राजकुमार लेखी,
गृह, सञ्चार तथा कानुनमन्त्री, मधेश सरकार

स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति हटाएर सुधार गर्नेछु, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेछु ।
शत्रुधन प्रसाद कोइरी
स्वास्थ्य तथा जनसंख्या मन्त्री, मधेश सरकार

शिक्षा क्षेत्रको विकासले मात्रै प्रदेश सबल बन्ने भएकाले शिक्षा क्षेत्र सुधारमा अहोरात्र खटिएर काम गर्नेछु ।
प्रमोद जयसवाल
शिक्षा तथा संस्कृति मन्त्री

वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिबार एमालेका प्रदेशसभा सदस्य सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका हुन् । कोइरी र लेखी विगतमा समेत मधेश प्रदेश सरकारमा राज्यमन्त्री भइसकेका अनुहार हुन् ।

राजकुमार लेखीले गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीका रुपमा शपथ लिएका छन् । यसअघि मधेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्रीका रुपमा शपथ लिइसकेका छन् । सत्ता गठबन्धन फेरिएसँगै मधेशका मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका मन्त्रीलाई हटाएका थिए । कांग्रेसको ठाउँमा एमालेलाई सरकारमा सहभागी गराइएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यसअघि नै सरकारमा सहभागी छन् । सत्ता गठबन्धनमा नभए पनि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मन्त्रीलाई पनि हटाइएको छैन । लोसपाले पनि केन्द्रमा नरहे पनि मधेश प्रदेश सरकारमा गठबन्धनमा रहने भनेर पत्रकार सम्मेलन नै गरेर जानकारी दिइसकेको छ ।

शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखीले संघीयता सबलीकरण गर्न आवश्यक पर्ने कानुन तथा सञ्चार क्षेत्रको सबलीकरण गर्न भूमिका खेल्ने बताए । उनले संघीयता कार्यान्वयनका लागि कानुन निर्माण आवश्यक रहेकाले विशेष भूमिका रहने बताए ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री कोइरीले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति हटाएर सुधार गर्न आफुनो प्रमुख दायित्व रहने बताए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको समस्या हटाएर जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मन्त्रालयबाट गर्न सक्ने काम गरिने र यसका लागि देखिएका व्यवधान हटाउने बताए ।

यस्तै, शिक्षा तथा संस्कृति मन्त्री जयसवालले शिक्षा क्षेत्रको विकास भएर मात्रै प्रदेश सबल बन्ने मान्यता रहेको बताउदै शिक्षा क्षेत्र सुधारको जिम्मेवारीका साथ मन्त्री बनेको बताए । उनले शिक्षा क्षेत्रको सबलीकरणमा प्रयास गरिने बताए । उनले प्रदेशको शिक्षा विकासमा अहोरात्र खटिनेसमेत बताए ।

एमाले प्रवेश गरेर मन्त्री
पर्सा क्षेत्र नम्बर ३ ‘क’ बाट स्वतन्त्र निर्वाचित प्रमोद जयसवाल मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री बनेका छन् । मधेश प्रदेश सभामा आफ्नो धारणा राख्दै जसपानिकट रहेको आँकलन गरिँदै आएका स्वतन्त्र सांसद जयसवाल शनिबार नेकपा एमाले प्रवेश गरेका हुन् । उनले मन्त्रीको रुपमा शपथ लिएको केही समयअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेको बताए ।

नेकपा एमालेभित्र मन्त्री बन्न नेताहरुबीच निकै दौडधुप देखिए पनि नेकपा एमालेले मन्त्री बनाउने पक्कापक्की गरेपछि शनिबार भएको मन्त्रिपरिषद विस्तारमा जयसवाल मन्त्री बने भने एमालेमा पनि प्रवेश गरे । उनले भने, ‘एमालेमा प्रवेश गरेको छु, सबै कुरा मिल्दै छ ।’ जयसवाल प्रवेश गरेसँगै मधेश प्रदेशमा नेकपा एमालेको प्रदेश सभा सदस्यको संख्या २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button