वर्तमान गठबन्धन स्वार्थ समूहको गठजोड : लिङ्देन

[mashshare]

अनिल पोखरेल
राजविराज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान गठबन्धन स्वार्थ समूहको गठजोड भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टी अस्थिरता तर्फ गइसकेकाले सरकारले यो सतालाई आफ्नो स्वार्थको रक्षा कवचको रूपमा प्रयोग गरिएको उनको आरोप छ । शुक्रबार बिहान राजविराजमा पत्रकारसँगको भेटघाटमा अध्यक्ष लिङदेले यो नयाँ गठबन्धन कुनै सैद्धान्तिक, राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलाई मध्यनजर गरेर बनाइएको नभइ देश र जनता भन्दा आफ्नो स्वार्थका लागि गठबन्धन बनाएको आरोप लगाएका हुन् । धर्मनिरपेक्षता पछि देशमा हिन्दुत्वमाथि संकट आएको बताउँदै अध्यक्ष लिङ्देनले संघीयताको जननी र हिन्दू धर्मको उर्वर भूमि मधेशका नागरिक पछिल्लो समय धर्ममाथिको प्रहार र संघीयताको कारण पीडा खेप्दै आएको दाबी गरे ।

उनले भने, ‘वर्तमान गठबन्धन सरकारको प्रतिपक्षमा उभिएको राप्रपा अहिले आन्दोलनमा छ । संविधानप्रति हाम्रो पार्टीको असनतुष्टी जनाउँदै आएका थिए तर अब देशले विद्रोह धान्न नसक्ने भएर यो संविधान मानेर पनि विरोध जनाउन पाइने बाटो पहिल्याएर राप्रपा अघि बढनेछ ।’ उनले हिन्दुत्वको रक्षाल संघीयता कार्यन्वयन, मिटरब्याजीको समस्या सहितका एजेण्डामा आफ्नो पार्टीले मधेश प्रदेशसँग सहकार्य गर्ने बताए ।

केन्द्रीय सरकारमा पार्टी प्रतिपक्षमा भइरहँदा कतिपय प्रदेशमा निर्णायक भूमिकामा रहेको राप्रपा प्रदेश सरकारहरूमा जाने कि नजाने भन्ने सञ्चारकर्मीको प्रश्नमा जबाफ दिँदै अध्यक्ष लिङ्देन भने, ‘राप्रपा कुनै बहानामा सरकारमा जाने तयारी नरहेको यद्धपी कतै हाम्रो बेगर सरकार नबन्ने प्रस्ताव आयो भन्ने हामी छलफल गरेर अघि बढ्छौँ ।’ काठमाडौँमा आगामी चैत २७ गतेबाट जनप्रदर्शनको तयारीमा रहेको जानकारी गराउँदै उनले मधेशलाई निम्ता पनि दिन आएको बताए ।

यसैबीच सप्तरीको बोदे बरसाईनमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकमा संघीयता लागू भएपछि मधेश केन्द्रित राजनीतिक दलहरूबाट धेरै नेताहरू मन्त्री भए पनि जनताले उनीहरूबाट कुनै सुविधा नपाएको जिकिर गरे । अध्यक्ष लिङ्देनले मधेशको नाममा राजनीति गर्ने मधेशवादी दलहरूले मधेशी जनताका लागि कुनै महत्वपूर्ण काम गर्न नसकेको बताए । मधेशले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय पाएको उल्लेख गर्दै उनले जनताको पक्षमा केही नगरेकोले अब जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुनेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button