मानवसेवामा सबैको सहयोग जरुरीः मन्त्री उप्रेती

[mashshare]

एसपी गौरव
सर्लाही ।
नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत सञ्चालित मानवसेवा आश्रमको सेवामा सबैले सहयोग पुर्याउनुपर्ने बताएका छन् । हरिवन नगरपालिका–१ स्थित कैलाशपुरीमा रहेको मानवसेवा आश्रमको आय–व्याय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक समारोहमा रक्षा मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

मानवसेवा आश्रम हरिवनको आर्थिक वर्ष २०७५–७६ देखि २०७९–८० सम्मको लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ को पुस मसान्तसम्मको आयव्याय विवरण एवम त्यस समयको प्रगति प्रतिवेदन सार्वजनिक गरेको मानव सेवा आश्रमका सुकदेव कार्कीले जानकारी दिए । उनका अनुसार, मानवसेवा आश्रम सर्लाहीले स्थापना भएदेखि हालसम्म दुई सय ४४ जनाको उद्धार गरेको छ । मानवसेवा आश्रमले सडकमा अलपत्र बेवारिसे व्यक्तिलाई उद्धार गरेर आश्रममा राखेर स्याहार गर्दै आइरहेको र उद्धार गरिएका दुई सय ४४ जनामध्ये ८६ जनाको पारिवारिक पुनर्मिलन गराइ सकिएको कार्कीले बताए ।

त्यस्तै, आश्रममा ल्याएर स्याहार र उपचारपश्चात सामान्य अवस्थामा फर्किएका ८७ जनालाई सामुदायिक पुनःस्थापना गराइएको आश्रमले जनाएको छ । उद्धार गरेर आश्रममा राखिएकामध्ये ११ जनाको निधन भएको छ । आश्रममा ५२ जना आश्रित रहेको मानव सेवा आश्रम सर्लाहीले जनाएको छ । मानवसेवा आश्रमलाई आर्थिक वर्ष २०७९–८० मा २५ लाख ३२ हजार सात सय १८ रुपैयाँ सहयोग प्राप्त भएकामा ३८ लाख ४४ हजार सात सय पाँच रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०–८१ को पुस मसान्तसम्म १३ लाख ८३ हजार एक सय ७२ रुपैयाँ आम्दानी भएकोमध्ये १६ लाख ३४ हजार ७१ रुपैयाँ खर्च भएको आश्रमले सार्वजनिक गरेको लेखापरीक्षणमा उल्लेख छ । आश्रममा सहयोग तथा आम्दानी भन्दा खर्च धेरै भएकाले ऋणबाटै आश्रम सञ्चालन भइरहेको कार्कीले बताए ।

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) को अध्यक्षता कार्यक्रम भएको हो । नगर उपप्रमुख हरिमाया घलान, निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतको कार्यक्रममा उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button