मधेश सरकारमा एमालेको प्रवेश, कांग्रेसको बहिर्गमन

लोसपालाई एउटा मन्त्रालय, विश्वासको मत लिनु पर्ने

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन । मधेश प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्री हटाउँदै मुख्यमन्त्री यादवले नेकपा एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिँदै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । नेपाली काग्रेसको भागमा रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्यमन्त्री यादवले आफैँसँग राखेका छन् । नवनियुक्त मन्त्री यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ खुवाइएको छ ।

केन्द्रको सत्तागठबन्धनबाट नेपाली कांग्रेस अलग भएपछि मधेश प्रदेशमा समेत सरकारबाट हट्न मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरुलाई दबाब दिएका थिए । तर, नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री यादवले केन्द्रको सत्ता गठबन्धनबाट नेपाली कांग्रेस हटेपछि मधेश प्रदेश सरकारमा समेत कांग्रेस पार्टीका मन्त्री हटाउँदै मन्त्रिपरिषद पुनर्गठन गरिएको बताए । उनले एमालेबाट एक जना मन्त्रीलाई शपथ ग्रहण गराएर एमालेलाई सरकारमा सहभागिता गराउँदै सत्ता गठबन्धनसँग छलफल गरेर छिट्टै मन्त्रिपरिषद विस्तार गरिने बताए । उनले एमालेसँग मन्त्रीको संख्याबारे कुनै सहमति नभएको बताउँदै सत्ता गठबन्धनमा रहेको माओवादी एमालेसँग बसेर बाँकी मन्त्रालयका विषयमा छलफलमार्फत टुंगो लगाइने बताए । यादवले छिट्टै मन्त्रालयका विषयमा समेत टुगो लगाएर सरकार विस्तार गरिने जानकारी दिए ।

नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एवम् नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले एमालेलाई चार मन्त्रालय र एक राज्य मन्त्री दिने सहमति भएको दाबी गरे । उनले अन्य मन्त्रीको नामका विषयमा छलफल भइरहेकाले केही दिनमै टुंगो लाग्ने बताए । उनले मन्त्रीहरुको नाममा कुनै पनि प्रकारको विवाद नरहेको बताउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली उपत्यका बाहिर रहेका कारण नाम टुंग्याउन केही ढिलाइ भए पनि समन्वयमै छिट्टै टुंगो लगाइने जानकारी दिए ।

पार्टी स्रोतका अनुसार नेकपा एमालेभित्र मन्त्रीको नामलाई लिएर विवाद छ । यसअघि एमाले सहभागी रहेको मधेश सरकारमा मन्त्री बनेकालाई फेरि मन्त्री बनाउने भनिएपछि पार्टीभित्र विवाद देखिएको छ । प्रदेश सभाका सदस्यहरुले केही पुरानो र केही नयाँ मन्त्रीलाई जिम्मेवारी दिनुपर्ने तर्क समेत कतिपय प्रदेश सभा सदस्यको छ । स्रोतका अनुसार, नेकपा एमालेबाट राजकुमार लेखी र शत्रुधन सिंह कोइरीको नाम मन्त्रीमा पक्काजस्तै छ । तर अन्य नाममा भने टुंगो लाग्न सकेको छैन । यसैले सोमबार एमालेले एक जना मात्रै मन्त्रीलाई शपथ ग्रहण गराएको हो ।

केन्द्रको गठबन्धनमा लोसपा विपक्षमा रहे पनि प्रदेश सरकारमा उसको मन्त्रीलाई भने नहटाइने भएको छ । मुख्यमन्त्री यादवले आफूले विश्वासको मत लिँदा लोसपाले विश्वासको मत दिने भएपछि उसलाई एउटा मन्त्रालय दिएर राखिने बताए । १ सय ७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक पर्छ । मधेशमा एमालेका सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ ।

विश्वासको मत लिनु पर्ने
मुख्यमन्त्री सरोजकुमार यादवले भने फेरि विश्वासको मत लिनु पर्ने भएको छ । मुख्यमन्त्रीको दाबी गरिरहेको नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ भने मुख्यमन्त्रीकै दाबी गरिरहेको नयाँ घटक नेकपा एमाले पनि मन्त्रीमा सरिक भएर मुख्यमन्त्री नेतृत्वको सरकारमा सहभागी भएको छ । कुनै पनि दलले सरकारलाई दिइएको विश्वासको मतबाट बाहिरिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र फेरि विश्वासको मत लिनु पर्ने भएको छ । यसअघि जनमतले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए । मुख्यमन्त्री यादवले अब चौथो पटक विश्वासको मत लिनु पर्ने भएको छ ।

निर्वाचन क्षेत्रमा सडक पहिलो प्राथमिकताः मन्त्री
नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक योजना’लाई पहिलो प्राथमकितामा राखेर काम अगाडि बढाइने बताएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री यादवले आफू मन्त्री हुँदा यस कामलाई सक्रियताका साथ अगाडि बढाइएको बताउँदै केही समस्याका कारण यसमा अवरोध आएको बताउँदै आफू मन्त्री भएपछि यसलाई फेरि तदारुकताका साथ अगाडि बढाइने बताए । उनले यसले प्रदेशको जनताको समृद्धिको एउटा आधारशीला खडा गर्ने भएका कारण आफ्नो पहिलो प्राथमिकता रहने बताए ।

यादवले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नयाँ सडक ल्याइने योजनासमेत अगाडि बढाइने बताए । उनले मधेश सहिद लोक मार्गको डिपिआर आफू मन्त्री हुँदा नै गराउन लगाइएको बताउँदै जो आफू मन्त्रीबाट हटेलगत्तै ओझेलमा परेको थियो, त्यसलाई फेरि अगाडि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button