बिचौलिया हटाउन ‘एजेन्ट लाइसेन्स’ प्रणाली ल्याउँदै छौँ : साह

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि उपजमा विद्यमान बिचौलिया प्रणाली हटाउन सरकारले ‘एजेन्ट लाइसेन्स’ प्रणाली ल्याउने तयारी गरिरहेको बताएकी छन् । साना किसान कृषि सहकारी संस्था डुमरवाना बाराको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानका समस्या समाधान गर्नु आफ्नो पहिलो दायित्व रहेको बताएकी छन् ।

उनले सबैखाले कृषि उत्पादनमा बिचौलिया मोटाउने र किसान मारमा पर्ने समस्या रहेको र त्यसलाई हटाउन एजेन्ट लाइसेन्स प्रणाली ल्याउने तयारीमा आफू लागि परेको जानकारी दिइन् । कृषि मन्त्री साहले बिचौलिया व्यवस्थापन गरेपछि किसान र उपभोक्ता दुवैलाई फाइदा हुने भएकाले मन्त्रालयको कदममा साथ दिन सम्बन्धित पक्षलाई आग्रह गरिन् ।

मन्त्री साहले दूग्ध किसानको बक्यौता रकम भुक्तानीका लागि ३० करोड र पशु बीमा बक्यौताका लागि ४८ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट निकासा स्वीकृत गरिसकेको र एक साताभित्रै दुवै समस्या अन्त्य हुने उनको दाबी छ । कृषि उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन आफूले नीतिगत रूपमा प्रक्रिया अघि बढाएको मन्त्री साहले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button