
मधेशदृष्टि
वीरगंज ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ लागि आन्दोलन गर्ने निष्कर्ष निकालेको छ । जनमतले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि नौलो गणतन्त्रका लागि आन्दोलन सुरुवात गर्ने गरी काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तय गरेको छ । चैत ३ र ४ गते वीरगंजमा सम्पन्न जनमतको केन्द्रीय समितिबाट पारित निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले आर्थिक मन्दीका कारण थला परेको उद्योगव्यवसायको समस्या तत्काल समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।
उनले प्रदेशलाई अधिकारसम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानुन चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको बताए । कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने जनमतले निर्णय गरेको छ । त्यसैगरी, मधेशमा गर्मीयाममा हुने गरेको खानेपानी अभावको समस्यासँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने निर्णय गरेको छ । जनताको जनसम्प्रभुता फर्काउन र ठूला पार्टीको सिन्डिकेटबाट देशलाई मुक्त गराउन नौलो गणतन्त्रका लागि आन्दोलन आवश्यक रहेको जनमत पार्टीका सचिव बिपी साह बताउँछन् ।
साह भन्छन्, ‘नेपालका लागि नौलो भए पनि विश्वका थुप्रै देशमा यो अभ्यास भइसकेको छ र’ उनले यही गणतन्त्रलाई सुधार र परिस्कृत गर्दै नौलो गणतन्त्र स्थापना गर्ने आफूहरूको लक्ष्य रहेको बताए । जनमतले घरदैलो कार्यक्रममा ‘नौलो गणतन्त्र’ आन्दोलनको औचित्य प्रस्ट्याउँदै बनाइएको पर्चा पम्प्लेट वीरगंजको टोलटोलमा वितरण गरेको छ । भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र ल्याऔँ जस्ता नाराका साथ जनमत पार्टी आन्दोलनको तयारीमा जुटेको नेता साह बताउँछन् ।
नौलो गणतन्त्रमा जनताले आफ्नो शासनको प्रत्यक्ष अनुभूति गर्ने बुझाइ जनमत पार्टीको छ । नौलो गणतन्त्रमा हरेक कुरा जनताको निर्णयबाट मात्र हुने, कुनै पनि कुरामा अङ्कुश नलगाउने सुनिश्चितता हुने जनमत पार्टीले जनाएको छ । संसदमा सांसद स्वतन्त्र छैनन्, अदालतमा न्यायाधीश स्वतन्त्र छैनन्, मन्त्रिपरिषदमा मन्त्री स्वतन्त्र छैनन् । यी सबै कुरा दुईचार नेता तथा दुई तीन पार्टीले बन्धक बनाएर राखेको भन्दै जनमत पार्टीले त्यसबाट मुक्ति पाउन नौलो गणतन्त्र नै अपरिहार्य रहेको प्रस्ट पारेको छ ।
जनमत पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमात्र होइन, नौलो गणतन्त्रमा निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने धारणा राखेको छ । नेपालको राजनीतिक परिवर्तनका लागि सडक संघर्ष नै अन्तिम विकल्प रहेको जनमत पार्टीको बुझाइ छ । नेपालमा जे जति राजनीतिक परिवर्तन भएका छन्, सडकबाटै भएको भन्दै जनमत पार्टीले शान्तिपूर्ण आन्दोलनका लागि तयारी गरिरहेको जनमतका केन्द्रीय सचिव साहले बताए ।
हिन्दूराष्ट्र बनाउन अभियान चलाइने
नेपाललाई हिन्दूराष्ट्र बनाउन देशव्यापी अभियान चलाइने भएको छ । नेपाल जनता पार्टीका मधेश प्रदेश अध्यक्ष शत्रुघ्न महतोले शनिबार नगरस्तरीय सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा देशव्यापाी हिन्दूराष्ट्र बनाउन अभियान चलाइने बताए ।
उनले नेपालमा ८१ प्रतिशत हिन्दू रहेकाले नेपाललाई धर्मनिरपेक्षका नाममा षड्यन्त्रमा पारिएको बताए । विदेशी गैरसरकारी संस्था, लभ जिहादमार्फत धर्म परिवर्तन भइरहेको र देशमा मदरसा र चर्च निर्माण निर्माण बढिरहेको उनको तर्क थियो ।
साहले सिएए लागू गरेर पाकिस्तान, बंगलादेश, अफगानिस्तानबाट आएका उत्पीडित हिन्दू, सिख, इसाई र पारसीलाई नागरिकता दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएको कानुन स्वागतयोग्य रहेको पनि बताए । धीरजकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा विष्णुकुमार पाण्डे, वन्दना पाण्डे, विजय कुमार साह, पवित्र देवी यादव, अजयकुमार यादवलगायतका नेताले धारणा राखेका थिए । कार्यक्रम सन्तोष साह सञ्चालन गरेका थिए ।






