
मधेशदृष्टि
वीरवगंज ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निरन्तरको प्रयासले अन्तत जनता समाजवादी पार्टी पर्साको विवाद समाधान भएको छ । शुक्रबार राति अबेरसम्म वीरगंजको होटल पुजनमा पार्टीका केन्द्रीय अध्यक्ष यादवको पहलमा पूर्व मन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पार्टीका मधेश प्रदेश इन्चार्ज बालकिशोर यादव, दुईवटा समानन्तर कमिटिका अध्यक्षद्धय रामनरेश यादव र सिंघाशन साह तेली लगायत नेताहरुको उपस्थितीमा पार्टी भित्र देखिएको आन्तरिक विवाद समाधान गरी समानान्तर समिति भंग गर्ने सहमति भएको हो ।
विगत लामो समयदेखि जिल्लामा विवाद हुँदा दुई वटा समानान्तर कार्यसमिति निर्माण भएका थिए । पार्टीको महाधिवेशनका लागि अब क्रियाशिल सदस्यता वितरण गर्ने तथा होली पछि कार्यसमिति पुर्नगठन गर्ने सहमति भएको पूर्व मन्त्री एवम् सांसद प्रदीप यादवले जानकारी दिए ।
उनले भने, ‘पुरानो तिक्ततालाई बिर्सिएर अब सबै नेता तथा कार्यकर्ता एकजुट भई संगठन निर्माणमा जुटन अध्यक्षले निर्देशन दिनुभएको छ । होली पछि जिल्ला कार्यसमिति पुर्नगठन हुन्छ ।’ पार्टीको पुर्नगठनमा पूराना नेता कार्यकर्ताहरु नछुटने उनको भनाइ छ ।






