नेसपाको विवाद : यादव पक्ष माओवादी समाहित, भट्टराईको असहमति

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेपाल समाजवादी पार्टी (नेसपा)भित्रको विवाद अन्ततः विभाजनको तहमा पुगेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्रराय बीच असमझदारी बढ्दा पार्टी विभाजन भएको हो । पार्टीका एक अध्यक्ष यादव पक्षले शनिबार नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति गरेका छन् ।

शनिबार सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको जनाएको छ । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ ।

पार्टी एकताका लागि वैचारिक एकरुपता र सङ्गठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा माओवादी केन्द्रका तर्फबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ र महासचिव यादव रहेका छन् । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ र समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव सहभागी उक्त निर्णय गरेको प्रस नोटमा उल्लेख गरेको छ ।

यादव पक्षले माओवादीसँग पार्टी एकता गर्ने सहमतिलाई लिएर अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले भने असहमति जनाएका छन् । भट्टराईले चैत ४ गते (आज) केन्द्रीय कार्यकारिणी समिति र चैत ५ गते (भोली) केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर बैठकको अघिल्लो दिन अर्का अध्यक्ष यादव समूहले माओवादी केन्द्रसँग एकता घोषणा गरेपछि भट्टराईले आपत्ति जनाएका छन् । पछिल्लो समय नेसपाभित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने मत रहेको भए पनि भट्टराई सहमत भएका थिएनन् । गत वर्ष ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेसपाले माओवादी केन्द्रकै चिह्नबाट चुनाव लडेको थियो । संघमा सर्लाही २ बाट महिन्द राय यादव, वाग्मती प्रदेशमा सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणिन्द्र देवकोटा निर्वाचित भएका थिए । संघको समानुपातिकमा उमरावती देवी निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button