
सञ्जय मिश्रा
रौतहट ।
नगदमा सम्झौता गर्ने उधारोमा होईन भन्दै रौतहटको फतुवा विजयपुर नगरपालिकामा तलबको माग गर्दै आन्दोलनरत शिक्षकहरू तेस्रो दिन पनि धर्ना जारी राखेका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिकाले नगरपालिका अगाडि धर्ना दिएका हुन् । आफ्नो बैंक खातामा तलब नगएसम्म धर्ना जारी राख्ने अडान राखेका चार वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित १६ विद्यालयका प्रधानाध्यापकहरुले वार्षिक परीक्षा समेत बहिष्कार गरेका छन् । परीक्षा बहिष्कारको बाबजुत केही विद्यालयमा सञ्चालन भएको भए पनि केही विद्यालयमा परीक्षा स्थगित भएका छन् ।
नगरक्षेत्र अन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका छन भने त्यतिकै संख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन् । फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ मावि ४ निमावि र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउनदेखि हालसम्म तलब पाएका छैनन् । होली पर्व आउन केही दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्ना बस्दै आएका छन् ।
जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन तबसम्म वार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरु अडानका बीच धर्ना जारी रहेको मावी विजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताए । कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते आइतबार खातामा जाने निश्चित भएकाले विद्यार्थीको भविष्यको लागि परीक्षा सञ्चालन गर्न शिक्षकहरूलाई आग्रह गर्दै आएका छन् । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित गोपाल राय यादव नदी टेन्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजायको निर्णय भएसंगै उनको पद रिक्त भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक बनेकी थिइन् ।






