
मधेशदृष्टि
वीरगंज ।
नेपाल समाजवादी पार्टी (नेसपा)भित्रको विवाद थप पेचिलो बन्दै गएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्रराय बीचको दूरी झनै बढ्दै गएको छ । पछिल्लो पटक अध्यक्ष भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष यादव पक्षधरले आपत्ति जनाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।
अध्यक्ष यादव निकट महासचिव रमेशप्रसाद यादवले बिहीबार एक वक्तव्य जारी गरेर अर्का अध्यक्ष भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् । अध्यक्ष भट्टराईले ४ चैतमा केन्द्रीय कार्यकारिणी समिति र ५ चैतमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । अध्यक्ष भट्टराईको केन्द्रीय कार्यालयको नामबाट बोलाएको बैठकलाई अर्का अध्यक्ष यादव पक्षले आधिकारिक नभएको भन्दै अस्वीकार गरेको छ । ‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक महिन्द्रराय यादवको सहमति बिनै एक पक्षीय रुपमा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकाले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँछु’, महासचिव यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर, नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेले भने अध्यक्ष भट्टराईले बोलाएको बैठक आधिकारिक भएको दाबी गरेका छन् ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी भित्रको मतलाई लिएर पनि नेसपामा मतभेद रहिआएको छ । पार्टीभित्रको यही मतभेदले माओवादीसँगको पार्टी एकता हुन नसक्ने मत बलियो देखिएको छ । यता, भट्टराईले भने माओवादी केन्द्रको चिह्नबाट जितेका आफ्ना जनप्रतिनिधिहरुलाई अलग्गै दलको मान्यता दिन माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । अलग्गै दलको मान्यता दिन निवेदन दिएपछि डा.भट्टराईले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।
गत वर्ष ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेसपाले माओवादी केन्द्रकै चिह्नबाट चुनाव लडेको थियो । संघमा सर्लाही २ बाट महिन्द राय यादव, वाग्मती प्रदेशमा सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणिन्द्र देवकोटा निर्वाचित भएका थिए । संघको समानुपातिकमा उमरावती देवी निर्वाचित भएकी थिइन् ।






