
एसपी गौरब
सर्लाही ।
सर्लाहीको बागमती नगरपालिकाले निर्माण गरेको दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी (भरत ताल)मा निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरिएको छ । बागमती नगरपालिका ४ र १२ स्थित बुढी बागमतीको किनारमा खेर गएको बाँझो जमिनमा एक सय २० बिघा क्षेत्रफलमा दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी (भरत ताल) निर्माण सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढेपछि निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार करिब दुई वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिप लाइन, वाटर साइकल, स्काइ साइकलिङ, ऊँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको हो । बागमती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्ष २०८०÷०८१ देखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् । उनका अनुसार नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेपछि दैनिक हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू ताल घुम्न आउने गरेका छन् ।
वरपरको भूभागसहित भरत ताल एक सय २१ बिघा क्षेत्रफलमा निर्माणाधिन अवस्थामा रहेको छ । नेपाली तथा अंग्रे्रेजी नयाँ वर्ष, शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भिड लाग्ने गरेको बागमती इन्टरटेनमेन प्रा.लिका गौमत खड्काले बताए । उनले नगरपालिकासँग सम्झौता गरेर ८० प्रतिशत रकम कम्पनी र २० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा हुने गरी टिकट बिक्री भइरहेको समेत बताए । तालमा बोटिङ चढ्दा ठुलो जहाजमा पाँच सय रुपैयाँ, सानो डुङ्गामा तीन सय शुल्क रुपैयाँ लाग्ने गर्दछ ।
तालमा पाँच वटा घोडा र एउटा ऊँट, एउटा अजिङ्गर र एउटा मिनी रेल पनि सञ्चालनमा छ, जसमा पर्यटकहरू चढेर घुम्ने, फोटो खिच्ने र भिडियो बनाउने गर्दछन् । दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित भरत ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षण केन्द्र मात्रै बनेको छैन् । नगरपालिका भित्रका बेरोजगार युवाहरुले रोजगारी पाएका छन् भने भरत ताल नगरपालिकाको दीर्घकालीन आन्तरिक आय स्रोतको केन्द्र बनेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले बताए ।
चालु आर्थिक वर्षको ६ महिनामा नगरपालिकाले बोटिङबाट मात्रै करिब एक करोड रुपैयाँ राजस्व संकलन गरेको छ भने सवारी साधन पार्किङ शुल्क बापत करिब ५० लाख रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । प्रमुख प्रशासकीय अधिकृत पुरीले भने, ‘अब हाम्रो योजना पिकनिक स्थल, जंगबहादुर राणाको परिचय खुल्ने जंगे पार्क, चिडियाखाना, मिनि नेपाल, शिव पार्वतीको मुर्तीका साथै नेपालका सातै प्रदेशका साँस्कृति झल्कने पहिचानहरु बनाउने योजना छ । यसका लागि बजेट अभावले अलि समस्या भएको छ ।’, प्रमुख प्रशासकीय अघिकृत पुरीले बताए । भरत ताल सर्लाही र रौतहटको सिमाना पूर्वपश्चिम राजमार्गबाट करिब तीन किलोमिटर दक्षिण पर्ने भरत तालले मधेश प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।
पछिल्लो समय भारतको बिहार र देशभरबाट पर्यटकहरूको ओइरो लागेको छ । भरत ताल निर्माणाधिन अवस्था मै यस वरपरका बस्तीहरुमा खानेपानीको समेत समस्या आफैँ समाधान भएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।






