
सञ्जय मिश्रा
रौतहट ।
मौलापुरमा जारी मधानी महोत्सवका अवसरमा आएका बलिउड अभिनेता गोविन्दा आहुजाको प्रस्तुति हेर्न ५० हजार भन्दा बढी दर्शक जम्मा भएका थिए । अभिनेता गोविन्दा, नेपाली चलचित्रका नायक पल शाहलगायतका कलाकारको प्रस्तुतिले हजारौँ दर्शक मन्त्रमुग्ध बनेका थिए ।
पाँचदिवसीय महोत्सवको चौथो दिन आयोजित विशेष सांस्कृतिक कार्यक्रममा अभिनेता गोविन्दा, पल शाह, भारतीय भोजपुरी नायिका निलम गिरी, भोजपुरी फिल्म निर्देशक तथा गायक विनय बिहारी, नेपाली फिल्म निर्देशक दिनेश जिसी, गायक रविराज साह, सुनिल पण्डित, कलाकार रचना शिवाकोटी, प्रीति पासवानलगायत नेपाली तथा भारतीय एकदर्जन कलाकारले प्रस्तुति दिएका थिए ।
बलिउड अभिनेता गोविन्दाले आफ्नै फिल्मका ५ वटा गीत गाएर डान्स गर्नुका साथै केही रेकर्डिङ गीतमा पनि डान्स गरेका थिए । त्यस्तै, नायक पल शाहले पनि बिभिन्न रेकर्डिङ गीतमा सिंगल र ग्रुप डान्स गरेका थिए । सहभागी हजारौँ दर्शक झुमेका थिए । अभिनेता गोविन्दाले आफ्नो ससुराली काठमाडौँ नेपालमा रहेको बताउँदै नेपालीसँग विशेष लगाव रहेको बताएका थिए । त्यसैगरी, उनले मौलापुरमा आयोजित मधानी महायज्ञको पनि खुलेरै सराहना गरेका थिए । गोविन्दा मुम्बईबाट बिहीबार साँझ उडानमार्फत भारतको पटना र त्यहाँबाट शुक्रबार गाडीमा कार्यक्रमस्थल मौलापुर आएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले कलाकारलाई मायाको चिनो प्रदान गरेका थिए भने मौलापुरकी मेयर रिना कुमारी साहले गम्छा ओढाएर सम्मान गरेकी थिइन् । शुक्रबार सम्पन्न विशेष सांस्कृतिक कार्यक्रममा ५० हजार भन्दा बढी सर्वसाधारण सहभागी भएको आयोजक मौलापुर नगरपालिकाले दाबी गरेको छ । कार्यक्रममा रौतहट, बारा, पर्सालगायत सीमावर्ती भारतीय सहरका मानिससमेत आएका थिए । मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलले कार्यक्रमको सुरक्षाको कमाण्ड सम्हालेका थिए । कार्यक्रममा सिडिओ हीरालाल रेग्मी, एसपी महेन्द्र कुमार श्रेष्ठसहित जिल्लाभरकै युनिटका नेपाल प्रहरी र सैयौँको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
महोत्सवको अन्तिम दिन शनिबार अन्तर्राष्ट्रिय दंगल (कुस्ती) प्रतियोगिता राखिएको छ । प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कुस्ती, खेलाडीको विशेष सहभागिता हुँदैछ । भारतकी अन्तर्राष्ट्रिय कुस्ती खेलाडी गोल्ड मेडलिस्ट बबिता फोगाटसहित नेपाल र भारतको दर्जनौँ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
उत्खनन्बाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको पहलमा २०७६ देखि प्रत्येक वर्ष महाशिवरात्रीका अवसरमा मधानी महोत्सव हुँदै आएको छ । यसअघि मौलापुर नगरपालिकाको पतौरास्थित पुरातात्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको थियो । उत्खनन्पछि नेपालसँगै बेलायतका पुरातत्वविद्हरुले कर्णाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खनन्मा भेटिएका अन्य संरचना गुप्तकालको रहेको जिकिर गरिएको थियो । भारत, बिहार सरकारका अवकाशप्राप्त पुरातत्वविद् विद्या चौधरीले मन्दिर तथा अन्य संरचना चौथो शताब्दी अर्थात दुईहजार वर्षअघिको गुप्तकालको भएको जिकिर गरेका थिए ।
केही महिनाअघि उनी मौलापुर, पतौरास्थित पुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन् भइरहेको स्थानबाट निस्किरहेको इँटलाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए । यसैबीच, पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भइरहेको उत्खनन् स्थलगत निरीक्षणपछि त्यसको बिस्तिृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका थिए ।
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला एकजना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटिएको थियो । सोही समय सामान्य उत्खनन् गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो । पूर्वमन्त्री साहले मौलापुरमा जारी पुरातात्विक उत्खनन्बाट दुनियाँलाई चकित पार्ने तथ्य बाहिर आइरहेको बताए । उनले भने, ‘पुरातत्वविद्का अनुसार नेपालमै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो । यस्तो अवशेष दुनियामा बिरलै पाईनन्छ । यो कति पुरानो हो ? फोटोबाटै बुझ्न सक्नुहुन्छ ।’ यो हाम्रो पुस्ताका लागि अनुपम उपहार हो, यसको संरक्षण र पुनर्निर्माण गर्न तथा पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदासूचीमा सूचीकृत गराउन सरकारसँग उनले अनुरोध गर्दै आएका छन् ।






