
वीरेन्द्र रमण
जनकपुरधाम ।
संघीय सरकारमा विगतमा बनेको गठबन्धन भत्किँदै नयाँ गठबन्धन तयार भएसँगै यसको बाछिटा प्रदेश सरकारमा समेत परेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित नयाँ गठबन्धन निर्माण भएपछि यसको प्रभाव मधेश प्रदेश सरकारमा समेत परेको हो । अहिलेको गठबन्धनमा नयाँ दल प्रवेश नगरेसम्म मधेश प्रदेश सरकार अल्पमतमा पर्ने अवस्था छ ।
मधेश प्रदेशको १ सय ७ सदस्यीय प्रदेश सभामा वर्तमान गठबन्धनमा नेकपा एमालेसँग २४, नेकपा माओवादी केन्द्रसँग ९ र जसपासँग १९ प्रदेश सभा सदस्य छ । जो मुख्यमन्त्री सरोजकुमार यादव सरकारको बहुमतका लागि पर्याप्त छैन । तेस्रोपटक विश्वासको मत लिएको यादव नेतृत्वको सरकारका लागि ५४ सदस्यीय बहुमतका लागि आवश्यक रहन्छ । वर्तमान गठबन्धनसँग ५२ प्रदेश सभा सदस्य मात्रै छन् ।
चार दल सम्मलित गठबन्धनलाई नै अगाडि बढाउनेहरु यादव नेतृत्वको सरकारका लागि बहुमत पुग्न स्वतन्त्र, राप्रपा १ र नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीको एक प्रदेश सभा सदस्यको समर्थनको भर पर्नुपर्ने अवस्था छ । यी दलहरु वर्तमान गठबन्धनमा नरहेका कारण समर्थन गर्ने छन वा बाहिर बस्ने छन्, उनीहरुको धारणा बाहिर आएको छैन । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री मागेको छ । उसले माग पूरा भए मात्रै वर्तमान सत्ता गठबन्धनमा सहभागिता जनाउने जनाएको छ । अर्कातर्फ राप्रपालाई प्रतिगामी भनेर समर्थन नलिएको वर्तमान गठबन्धनमा मधेश प्रदेशमा समेत राप्रपाले समर्थन गर्ने सम्भावना देखिँदैन । यस्तो अवस्थामा मधेश प्रदेशमा निर्णायक दलका रुपमा लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र जनमत पार्टीमध्ये एउटाको समर्थन आवश्यक पर्नेछ ।
लोसपाको मधेश प्रदेशमा ९, नेकपा एकीकृत समाजवादी पार्टीको ६ र जनमत पार्टीको १३ प्रदेश सभा सदस्य छन् । केही समयपूर्व जनमत पार्टीले सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । उसले यादव नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना देखिँदैन । मधेश प्रदेशमा गठबन्धनमा जाँदा मुख्यमन्त्री पाउनुपर्ने माग जनमतको छ । सरोज यादव नेतृत्वको सरकारबाट अधिकांश सरकारमा सहभागी दल चिढिएका छन् । सरकारले आफूखुसी मनोमानी गरिरहेको भन्दै उनीहरु सरकारको क्रियाकिलापबाट चिढिएका हुन् ।
नेपाली कांग्रेस वर्तमान गठबन्धनबाट बाहिरएपछि केन्द्रबाट नै मुख्यमन्त्रीको नेतृत्वको विषयमा टुंगो लाग्ने दलका नेताहरुले बताउँदै आएका छन् । नेपाली कांग्रेस वर्तमान गठबन्धनबाट हटे पनि मधेश प्रदेशमा उसको तीन मन्त्रीले राजीनामा दिएको छैन । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले पार्टीले अहिलेसम्म राजीनामाका विषयमा केही नभनेका कारण राजीनामा नदिइएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले भने, ‘विगतको गठबन्धनमा हामी थियौँ, एक्कासी गठबन्धन परिवर्तन भयो, यसको असर कहाँ पुग्छ, त्यो हेर्नेछौँ ।’ उनले नयाँ गठबन्धन निर्माण भएपछि यसको असर प्रदेशसम्ममा तत्काल नआएका कारण सरकारबाट हटाउने वा हट्ने विषय पार्टी केन्द्रीय समितिको बस्ने बैठकले निर्धारण गर्ने भएकाले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।
नेकपा एमाले, संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशको नेतृत्वको विषयमा अहिलेसम्म टुंगो नलागेका कारण एउटा प्रदेश भन्दा सबै प्रदेशको प्याकेजमै सहमति हुने भएकाले सहमति टुंगिएपछि सरकार कसरी बनाउने भन्ने विषय प्रवेश हुने बताए । उनले भने, ‘नेकपा एमाले मधेश प्रदेशमा सबैभन्दा ठूलो दल भएका कारण आफूहरुले नेतृत्व पाउनुपर्ने दाबी स्वाभाविक छ ।’
जसपाले मधेश प्रदेशमा आफनो नेतृत्व कायमै रहनु पर्ने दाबी गरिरहेको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले नेपाली कांग्रेसको बैठकले कस्तो निर्णय गर्छ, त्यसमा भर पर्ने बताए । उनले गठबन्धन फेरिएपछि नेपाली कांग्रेसका मन्त्रीहरु आफैँ राजीनामा दिनु उपयुक्त हुने बताए । उनले भने, ‘फेरिएको राजनीतिको असर प्रदेशसम्ममा स्वाभाविक रुपमा पर्ने छैन, जसपाको मधेश प्रदेशमा दाबी स्वाभाविक छ, रहने छ ।’
गठबन्धनको निर्णय कुर्दै कांग्रेस
मधेस प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू सत्ता गठबन्धनको निर्णय कुरिरहेका छन् । केन्द्रमा कांग्रेस–माओवादी सत्ता गठबन्धन भत्किए पनि मधेश प्रदेशमा गठबन्धन कायमै रहेको भन्दै कांग्रेसका मन्त्रीहरू सरकारमै छन् ।
मधेश सरकारमा भौतिक मन्त्री रहेका कांग्रेस नेता कृष्ण यादवले आफ्नो पार्टी सरकारमा रहेको र सरकारमा राख्ने नराख्ने निर्णय गर्ने अधिकार नयाँ गठबन्धनसँग रहेको बताए । उनले भने, ‘अहिलेसम्म कांग्रेस मधेश प्रदेश सरकारमा छ, कांग्रेसबारे के निर्णय गर्छ, त्यो नयाँ गठबन्धनलाई सोध्नुस् ।’ कांग्रेसका नेता, गृह, सञ्चार एवम् कानुन मन्त्री मोहम्मद समिमले केन्द्रमा जेजस्तो निर्णय भए पनि मधेश प्रदेशमा कुनै निर्णय नभएको बताए । आफूहरू सरकारबाट तत्काल राजीनामा दिने पक्षमा नरहेको भन्दै उनले नयाँ गठबन्धन सरकारले के गर्छ भन्ने जानकारी नआइसकेको बताए ।
उनले भने, ‘पार्टीमा छलफल गरेर आगामी रणनीतिबारे निर्णय लिन्छौँ ।’ सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी पनि कांग्रेसलाई सरकारबाट हटाउने पक्षमा छैन । सरकार अल्पमतमा जाने डरले जसपाले कांग्रेसलाई सरकारबाट हटाउन चाहेको छैन ।






