
सञ्जय मिश्रा
रौतहट ।
रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ । पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाममा ठगी धन्दा सुरु गरेको आरोप लगाएका हुन् । गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले गौरका केही जनप्रतिनिधिको छोरा भतिजाहरुले गौरमा क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी धन्दा सुरुगेरेको टिप्पणी गरेका हुन् ।
खेलाडी छनौटको नाममा प्रत्येक पालिका, विभिन्न संघ संस्था र व्यापारीबाट समेत रकम संकलन गरी खेलाडी छनौटको नाममा ठगी खाने भाँडो बनाएको पूर्व मन्त्री प्रभु साहको जिकिर रहेको छ । यदी खेलाडी छनौट गर्ने राष्ट्रिय कार्यक्रम हो भने त्यो अन्य जिल्लामा पनि हुन्थ्यो तर रौतहटमा मात्र किन ? भन्दै उनले प्रश्न उठाए । एउटा जनकपुर उपमहानगरपालिकाले प्रदेश स्तरको टुर्नामेन्ट गराउन सक्ने तर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गौर नगरप्रमुख शम्भु साह, जिल्ला समन्वय समिति सभापति राम अयोध्या यादव एउटा जिल्ला स्तरको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गराउन नसक्ने नेता साहले प्रश्न गरेका छन् ।
उनले भने, ‘खेलकुद मन्त्रालयमा वर्षको कम्तीमा १० अर्ब रुपैयाँ बजेट बिनियोजन हुने गर्दछ, त्यो हिसाबले एउटा जिल्लामा करोडौं रुपैयाँ आउनु पर्ने हो’ उनले थपे ‘तर रौतहटमा खेलकुद मन्त्रालय अथवा क्यानबाट कहिलै रकम आएको सुन्नु भएको छ ।’ क्रिकेट संघ रौतहट जिल्लाको १७ पालिकाबाट तीन÷तीन लाख रुपैयाँ चन्दा लिएर खेलाडी छनौट गर्ने भन्दै आगामी २६ गतेदेखि गौरमा जिल्ला स्तरीय क्रिकेट टुर्नामेन्टको आयोजना गर्दैछ । उक्त विषयलाई लिएर आजपाका अध्यक्ष साहको पछिल्लो अभिव्यक्ति आएको हो ।






