
मधेशदृष्टि
जनकपुरधाम ।
जनकपुरमा विद्यालयको बसले महिलालाई किच्दा दुई महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार जनकपुरधाम वडा नम्बर २३ बिन्धिमा विवाहका लागि माटो लैजान महिलाहरु गीत गाउँदै गइरहेको अवस्थामा विद्यालयको बस अनियन्त्रित भएर महिलाको समूहलाई किचेको हो ।
जनकपुरधामस्थित एन्जल्स स्कुलको प्रदेश–२–०२–०१ क–०४३१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा चढ्दा डिभाइडर भएर हिँडिरहेका महिला घाइते भएका छन् । उनीहरु सोही ठाउँमा रहेको भोरील यादवको घरमा विवाहका लागि माटो लिन जाँदै गरेको र केही महिला डिभाइडरमा समेत बसेको अवस्थामा बसले अनियन्त्रण भएर ठक्कर दिएको स्थानीयको कथन छ ।
जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धिकी ३५ वर्षीया राखीदेवी यादव र ५८ वर्षीया देवकली देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करले गम्भीर घाइते ६ जनाको उपचार प्रादेशिक अस्पतालमा जनकपुरमा भइरहेको धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
स्कुल बस र चालक प्रहरी नियन्त्रणमा छन् । दुर्घटनापछि बसमा तोडफोडसहित स्थानीयले प्रदर्शन गर्दा केहीबेर अवरुद्ध भएको सडक पीडित र प्रहरीबीच दोषीमाथि कारबाही गर्ने तथा उचित क्षतिपूर्ति दिने सहमतिपछि सुचारु भएको थियो । केही समयसम्म घरमा विवाहको गीत गुन्जिरहेको परिवारमा दुर्घटना र मृत्युका कारण रुवाबासी सुरु भएको छ । स्थानीयवासीले यो बाटो भएर सञ्चालन हुने अधिकांश सवारी साधन अत्यधिक गतिमा चल्ने गरेका कारणसमेत धेरै दुर्घटना हुने गरेको बताए । स्थानीयका अनुसार प्रहरीले अत्यधिक गतिमा सवारी साधन चलाउनेमाथि कारबाही नगरेका कारण दुर्घटना हुने गरेको हो ।






