दुर्घटनाका नाममा नागरिकको निहत्था मरण, ७ महिनामा २९४ को मृत्यु, ५,७३२ घाइते

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशमा सवारी दुर्घटना बढ्दो छ । दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै सवारी दुर्घटनामा २ सय ९४ जनाको ज्यान गएको छ भने ५ हजार ७ सय ३२ जना घाइते भएका छन् । दुर्घटनामा चालकको लापरबाही नै मुख्य कारण देखिएको छ ।

आइतबार पनि मधेशमा तीन जिल्लाको दुर्घटनाले धेरैको मन खिन्न भएको छ । चालकको लापरवाहीले धनुषाको जनकपुरमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ । कार्यालयका अनुसार, मधेश प्रदेशमा सबै भन्दा बढी दुर्घटना हुने जिल्लामा बारा परेको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा बारामा भएका ५ सय ४८ सवारी दुर्घटनामा ५६ जनाले ज्यान गुमाएका छन् भने ९ सय ५३ जना घाइते भएका छन् । सोही अवधिमा धनुषामा ४६, महोत्तरीमा ४०, सर्लाहीमा ३७, सिरहामा ३३, पर्सा र रौतहटमा ३०–३० जना र सप्तरीमा २२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

अघिल्लो वर्ष बारामा ९ सय ७२ सवारी दुर्घटना भएका थिए । तिनमा ९८ जनाले ज्यान गुमाएका थिए । यस्तै, धनुषामा ८४, सप्तरीमा ७० जनासहित मधेश प्रदेशका ८ जिल्लामा ५ सय ४६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । दुर्घटनाहरुमा ९ हजार ६ सय ७० जना घाइते भएका थिए । गत आर्थिक वर्ष मधेशमा ५ हजार ९ सय ८८ सवारी दुर्घटनाका घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र नागरिकका लागि जनचेतनामूलक कार्यक्रम जारी छन् । तर दुर्घटनामा कमी नआएको कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बाराको चुरियामाईदेखि अमलेखगञ्ज–तामागढी–निजगढ २ लेनको साँघुरो सडक खण्ड र भित्री हुलाकी सडक खण्डमा तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सवारी दुर्घटना धेरै हुने गरेको काफ्लेले बताए ।

दुर्घटना हुने सम्भावित क्षेत्रमा चालकलाई सचेत गर्ने, होडिङ बोर्डलगायतका ट्राफिक सूचक राखिएको भए पनि चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको काफ्लेले बताए । गत वर्ष चालकको लापरबाहीका कारण बाराको अमलेखगंजस्थित ३ नम्बर पुलको घुमाउनेमा १५ दिन भित्रैमा एकै स्थानबाट २ वटा बस दुर्घटना हुँदा ३१ जनाको ज्यान गएको थियो भने ६५ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button