
एसपी गौरब
सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित बस्तीपुरमा रहेको जनज्योती माविले विद्यार्थीहरुबाट अवैद्य तरिकाले रकम असुली गरेको पाइएको छ । जनज्योती माविले कुनै रसिद विना करिब ६५ जना विद्यार्थीहरुबाट प्रति विद्यार्थी पाँच सय रुपैयाँ असुलेको हो । विभिन्न कारणवस नियमित हुने परिक्षामा सहभागी हुन नपाएका तथा विद्यालयमा नियमति उपस्थित हुन नसकेका विद्यार्थीहरुबाट परिक्षा सञ्चालन र कपिचेक जाँचको बाहनामा रसिद नै नदिई प्रति विद्यार्थी पाँच सय रुपैयाँका दरले रकम असुलेका प्रमाण प्राप्त भएको छ ।
विभिन्न प्राविधिक कक्षाहरु समेत सञ्चालन गरेको विद्यालयले प्राविधिकतर्फ प्रयोगात्मक नगराउने गरेका तथा कक्षामा पाँच मिनेट ढिलो पुग्ने विद्यार्थीहरुबाट त पहिला देखि नै असुली चलाई रहेको गुनासो आएको नै थियो । परिक्षाका साथै मासिक रुपमा लाग्ने शुल्क समेत एक मुष्टमा तिरिसकेका विद्यार्थीहरुका साथै अभिभावकहरुले विद्यालयले नियमित परिक्षामा छुटेका विद्यार्थीहरुबाट पनि रसिद विना रकम असुल्ने गर्दा समस्यमा परेको गुनासो गरेका छन् । नियमित परिक्षामा छुटेका करिब दुई सय जना विद्यार्थीहरु मध्य करिब ६५ जना विद्यार्थीहरु मात्रै छुटेको परिक्षामा सहभागी भएका र उनीहरुबाट प्रति विद्यिार्थी पाँच सय रुपैयाँका दरले दण्डस्वरुप रकम लिएको साथै रसिद नकाटेको विद्यालय स्रोतले स्वीकार गरेको छ ।
विद्यालयका शिक्षक भरत राज दाहालले नियमित परिक्षामा छुटेका करिब दुई सय जना मध्य करिब ६५ जना विद्यार्थीहरु छुटेको परिक्षामा सहभागी भएका र उनीहरुबाट रसिद नकाटी प्रति विद्यिार्थी पाँच सय रुपैयाँ लिएको स्वीकार गरे । उनले विद्यालयको बगैँचाको व्यावस्थापन गर्न र कपि चेक गर्न दण्ड सजाय स्वरुप प्रति विद्यार्थीहरु पाँच सयका दरले रसिद नकाटी पैसा लिएको बताए । उनले कक्षा कोठामा ढिलो आउने विद्यार्थीहरुसँग पनि पाँच देखि १० रुपैयाँ प्रतिदिन कक्षागत शिक्षक तथा विद्यार्थी कमाण्डरले लिने गरेको समेत बताए । उनले विद्यार्थीहरुबाट यसरी लिएको रकम रसिद काट्दा समस्या हुने समेत बताए तर उनले रकम दुरुपयोग नहुने दाबी गरे ।
शिक्षक दाहालले रकम दुरुपयोग नहुने दाबी गरेपनि रसिद नकाटी रकम असुल्नु नै विद्यालय प्रशासनको नियममाथि शंका गर्नु पर्ने ठाउँ छ । यता, कुन विद्यार्थीबाट कति रकम र कसरी लिईएको छ, भन्ने विषयमा आफुलाई जानकारी नभएको विद्यालयका प्रधानाध्यापक विष्णु पोख्रेलले बताए । उनले शिक्षक दाहालले रकम लिएका छन् भन्ने थाहा पाएको भएपनि कुन प्रयोजनबाट र कुन प्रयोजनका लागि सो रकम लिएको साथै कसरी लिईएको छ भन्ने विषयमा शिक्षक दाहालसंग आफुले बुझ्ने समेत बताए । यसबाट पनि विद्यालय प्रशासनको मिलेमतोमा वा शिक्षक दाहाल आफैँले आफुखुसी रकम लिए भन्ने शंका सृजना भएको छ भने रसिद नकाटी रकम असुल्नुले जनज्योती माविमाथि मात्रै नभई सबै सामुदायिक विद्यालयहरुमाथि शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यामको नाममा समेत रकम असुली गरेका गुनासाहरु आएका छन् ।






