गठबन्धन सरकार पूर्णरुपमा असफलः पोखरेल

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले व्यवस्थाविरोधी आन्दोलनलाई जनताले आफ्नो बलमा निस्तेज पारिदिने बताएका छन् । उनले अहिले सरकारको असन्तुष्टिलाई व्यवस्थासँग जोडेर आन्दोलन गराउने कार्य भइरहेको बताउँदै यसलाई जनताले निस्तेज पारिदिने जिकिर गरे ।

जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा पोखरेलले सरकारले सुशासनको नारा दिएर हल्ला मात्रै गरेको बताउँदै सुशासन दिन नसकेको बताए । महासचिव पोखरेलले गठबन्धन सरकार पूर्णरुपमा असक्षम र असफल सावित भएको दाबी गरे । उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामले अहिले गति लिन नसकेको बताए । उनले भने, ‘वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको छ, विकासको खर्चसमेत हुनसकेको छैन, जसले जनतालाई वर्तमान सरकारले निरासा मात्रै देखिएको छ, कुनै आशा र भरोसा दिएको छैन ।’

महासचिव पोखरेलले अहिलेको सरकारले शिक्षक, कर्मचारीको पारिश्रमिक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था सिर्जना गरेको बताए । उनले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्ने कुराको आधार भएको समेत बताए ।

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति जनाए । एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताए । उनले अहिले गठबन्धनसँग बहुमत रहेकाले यसमा आफूहरुको कुनै चासो नरहेको र सरकारले सहयोगसमेत नमागेका कारण यसमा एमालेले कस्तो भूमिका खेल्ने भन्ने विषयमा पछि छलफल गरिने बताए । पोखरेलले वर्तमान सरकार जनतालाई बोझ बनिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button