मिटरब्याज उजुरीमा छानविन तथा मिलापत्र बढ्यो

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा मातहत आएका अनुचित लेनदेन (मिटरब्याज सम्बन्धी उजुरीहरुको छानविन तथा मिलापत्र गर्ने क्रम पर्सामा बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले गत माघ २४ गते अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये ५ सय ७ वटा उजुरी फर्छ्योट गरि बाँकी १ हजार ३ सय ६६ उजुरीका फाइलहरू आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।

माघ २४ गतेदेखि हालसम्म पर्सा प्रहरीले ३८ वटा उजुरीमा दुवै पक्षबिच मिलापत्र गराएको र उजुरी पर्ने क्रम समेत जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताए । प्रशासनबाट प्रहरीले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी मुद्दाको जिम्म लिएसँगै झण्डै एक महिनाकोे अवधीमा ३ सय २५ वटा उजुरी थपिएको र त्यो प्रकृयामा पर्सा प्रहरीमा १ हजार ६ सय ५३ वटा उजुरी रहेको छ । ती मध्ये एक महिनाको अवधीमा ३८ वटा उजुरीमा दुवै पक्षबीच मिलापत्र भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ती अवधीमा ४० वटा उजुरीमा छलफल भएकोमा ३८ वटा मिलापत्र भएको र २ वटा उजुरीमा अनुचित लेनदेन मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । २ वटा उजुरीमा छानबिन गर्दा कपाली तमसुक बराबर कै रकम चाहिने अडानमा रहेका दुई जनालाई बारम्बार प्रमाण पुर्याउन भन्दा पनि प्रमाण नपुगेको खण्डमा उनीहरु माथि अनुचित लेनदेन मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी श्रेष्ठले दिए ।

कुल दर्ता भएका उजुरी जिल्लाभरिका १४ वटै स्थानीय तहबाट आएका छन् । विशेष गरी लेनदेन र जग्गा जमिनसम्बन्धी मिटरब्याज पीडितहरूको उजुरी बढी दर्ता भएका छन् । गृहमन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरी सङ्कलन तथा फर्छ्यौटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको र जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउन निर्देशन दिएपछि मिटरब्याजी सम्बन्धी उजुरीको छिनोफानो र निरुपण गर्ने जिम्मा प्रहरीको काँधमा गएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । प्रहरी र प्रशासनले गरी हालसम्म पर्सामा ५ सय ४५ वटा उजुरीमा सहमति भइ छिनोफानो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button