
मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा माओवादी केन्द्रले मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता रहेका भरतप्रसाद साहलाई कारबाहीको तयारी गरेको छ । शुक्रबार बैठक बसेर संसदीय दलको नेता साहमाथि कारबाही हुने भनिए पनि बैठक भने भएन । स्रोतका अनुसार, सम्भवतः आइतबार बैठक बसेर नेता साहमाथि कारबाही घोषणा हुने बताइएको छ । फागुन ६ गते मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत लिनुअघि ५८ प्रदेशसभा सदस्य लिएर भारतीय सीमावर्ती कस्बा सुरसन्डवासमा बैठक बसाइएको र सरकारलाई विश्वासको मत नदिने योजना बनाउन लागेको आरोपमा साहमाथि कारबाहीको तयारी भएको हो ।
नेता साहले पनि यो कार्य आफूबाट भएको भन्दै सामाजिक सञ्जालमा जिम्मेवारी लिएका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा माओवादी केन्द्रका नेता पूर्वमन्त्री उमेश यादवको प्रश्नसहितको पोस्टमा नेता साहले मधेश प्रदेशका प्रदेशसभा सदस्यहरूको सुरसन्ड बैठक गर्ने आफू नै रहेको बताए । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएपछि आइतबार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका बेला सदनमा अनुपस्थित भई प्रस्ताव पारित हुन नदिन सत्ता गठबन्धनघटक नेकपा माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका ५८ सांसद शनिबार साँझ सुरसन्ड पुगेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमाले र जनमतको लहलहैमा लागेर माओवादी केन्द्र, लोसपा, साना दल र स्वतन्त्र प्रदेशसभा सदस्य सीमापारि पुगेका खबर बाहिरिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा उनीहरू फर्केका थिए ।
आइतबार गठबन्धनको निर्देशनअनुसार मुख्यमन्त्री यादवलाई विश्वासको मत दिइएपछि तत्कालका लागि सरकारको संकट टरे पनि यसको संकट चैँ मत नदिने लबिङमा लागेका गठबन्धन घटक माओवादी संसदीय दलका नेता साहमाथि सरेको हो । सुरसन्ड घटना पार्टी नीति र गठबन्धन विपरीत भएको र यसको नेतृत्व पार्टीकै संसदीय दलका नेताबाट हुनु गम्भीर राजनीतिक अपराध भएको निष्कर्षसहित माओवादी नेता साहमाथि कारबाहीको तयारीमा रहेको छ ।
विश्वासको मत लिने विषयमा आफ्नै पार्टीका संसदीय दलका नेताबाट धोका हुन लागको थाहा पाएपछि मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिता यादवले फेसबुकमा लेखेकी थिइन्, ‘राजनीतिमा धैर्य हुनु अति आवश्यक छ । आफू पटकपटक अवसर पाउँदा सबै ठिक हुने । थोरै दिन के सत्ताबाट बाहिर हुनु पर्छ, जे गल्ती गर्न नि तयार हुने । यस्तो राजनीतिक प्रवृत्तिले हामीलाई कहाँ पुर्याउने हो ? सबैले आज सोच्नु पर्ने विषय !’ उनको यो कटाक्ष उनै भरत साहप्रति थियो ।
सरकारका मन्त्रीबाटै सामाजिक सञ्जालमै प्रहार आएपछि नेता साहका संकटका दिन सुरु भएका हुन् । त्यसमाथि सामाजिक सञ्जालमा उनले नै भारतमा सांसद लगेर बैठक गराएको भनेर स्वीकारेपछि यसले गठबन्धनका अरु दलहरु पनि आश्चर्यचकित र आक्रोशित त भएकै थिए, एमालेको गठबन्धन फुटाउने योजना सफल नभइरहँदा नेता साह भने कारबाहीको डिलैमा पुगेका छन् ।






