६ महानगरमा वीरगंज उत्कृष्ट

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ महानगरपालिकामध्ये वीरगंज महानगरपालिका सबैभन्दा बढी विकास खर्च गर्नेमा पहिलो बनेको छ । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ३४.३१ प्रतिशत रकम खर्च गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा विराटनगर महानगरपालिका परेको छ । विराटनगरले विनियोजित बजेटको ३४.१५ प्रतिशत विकास खर्च गरेको छ ।

वीरगंज महानगरपालिकाले महानगरका ३२ वटै वडामा भौतिक पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । बजेट अभावका कारण महानगरपालिका सञ्चालनमा कठिनाई भए पनि विकासका कार्यलाई भने नरोकिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका धार्मिक स्थल सौन्दर्यकरण, ग्रामीण सडकको स्तरउन्नोति, विभिन्न पोखरीको सौन्दर्यकरण, सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियान र वीरगंजको मुख्य नालाको अतिक्रमण हटाउने काम एकसाथ अगाडि बढाएको छ ।

वीरगंज महनगरपालिकामा वडास्तरका साना विकासका योजना पनि धमाधम भइरहेको नगर प्रमुख सिंहले बताए । वीरगंज महानगरपालिकाले पुँजीगत खर्च ३४.३१ प्रतिशत गरी विकास बजेटको ७९ करोड २८ लाख रुपैयाँ विनियोजित रकममध्ये २७ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । विकास बजेट खर्च गर्न नसक्ने नगरपालिकामा काठमाडौँ महानगरपालिका सबै भन्दा पुछारमा रहेको छ । त्यसपछि भरतपुर, पोखरा र ललितपुर महानगरपालिका छन् ।

तीनै तहका सरकारले बजेट सार्वजनिक गर्दा विकास खर्च कार्यान्वयनमा जोड दिने बताउँदै आएका छन् । तर कार्यान्वयन पक्ष कमजोर हुँदा सधैँ आर्थिक वर्षको अन्त्यमा हतारमा विकास कार्य गर्ने प्रवृत्ति रहँदै आएको छ । वीरगंज महानगरपालिकामा भने नगर प्रमुख सिंहको पहलमा वडाध्यक्षको समन्वय र सक्रियता, कर्मचारी प्रशासनको जिम्मेवारीलगायतका कारण विकास खर्चमा वीरगंज महानगरपालिका अब्बल देखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button