ईशनाथ घटना : तोडफोड भएको क्षतिपूर्ति दिलाउने सहमति

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
केही दिनदेखि देखिएको दुई समुदाय बीचको तनाव हटाएर सदभाव कायम राख्न चौतर्फी पहल सुरु भएको छ । दुवै समुदायको भएको क्षतिमा क्षतिपूर्ति दिलाउन जनप्रतिनिधि, स्थानीय प्रशासन प्रयासरत देखिएका छन् । ईशनाथ नगरपालिकामा भएको क्षतिबारे बुझ्न स्थानीय प्रशासनले मंगलबार स्थलगत अनुगमन निरीक्षण गरेको छ ।

सरस्वतीको मूर्ति बिसर्जन गर्ने विषयमा ईशनाथ–७ घिउरागाउँमा दुई समुदायबीच झडप भएको थियो। हिन्दू समुदायले मूर्ति बिसर्जनका लागि शनिबार लगिरहेको ट्र्याक्टर, डिजे बाजा मुस्लिम समुदायले तोडफोड गर्नुका साथै उनीहरुले घरको छतबाट प्रहार गरेको ढुंगाले कैयौँलाई चोटपटक लागेको थियो । सोही घटनाको बदलास्वरूप भोलिपल्ट आइतबार हिन्दू युवाले ईशनाथ–२ औरैयास्थित मस्जिदको माइकसेट तोडफोड गरेका थिए । रौतहट क्षेत्र–२ का संघीय सांसद किरण कुमार साहको सुझावअनुसार मंगलबार स्थानीय प्रशासनले क्षतिबारे वास्तविकता बुझ्न स्थलगत अनुगमन निरीक्षण गरेको हो ।

अनुगमन टोलीमा सांसद साह, सिडिओ हीरालाल रेग्मी, एसपी महेन्द्र श्रेष्ठको सहभागिता थियो । निरीक्षणक्रममा घटनामा भएको क्षतिको ईशनाथ नगरपालिकाले तत्काल क्षतिपूर्ति भर्ने सहमति भएको एसपी श्रेष्ठले बताए । निरीक्षणपश्चात सांसद साहसहित प्रशासन प्रमुख दुवै समुदायका अगुवासँगै स्थानीयलाई राखेर सद्भाव कायम गराउन छलफल भएको थियो ।

छलफलमा हिन्दू र मुस्लिम अगुवाका साथै सहभागी जनप्रतिनिधिले आआफ्नो समुदायलाई सम्झाईबुझाई अब सबै मिलेर सौहार्दपूर्ण रुपमा बस्ने प्रतिवद्धता जनाएका थिए । हिन्दू मुस्लिमबीच पूरै भाईचारा निर्वाह गर्न कुनै सामाजिक समस्या देखिए दुवै समुदाय बसेर छलफल गरी समाधान निकाल्नेसमेत सहमति भएको एसपी श्रेष्ठले जानकारी दिए ।

यसअघि शनिवार सरस्वतीको मूर्ति बिसर्जनका विषयमा अवस्था तनावग्रस्त हुँदा सिडिओ रेग्मीले अनिश्चितकालीन करफ्यु आदेश जारी गरेका थिए । ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मा लगाइएको अनिश्चितकालीन कर्फ्यु जारी छ । एसपी श्रेष्ठले अवस्था अनुसार परिचालित प्रहरी घटाइने र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु हटाइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button