युवाको बौद्धिकता कमजोर भइरहेको छः यादव

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाको बौद्धिकता कमजोर हुँदै गइरहेको बताएका छन् । शनिबार समाजवादी युवा संघद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले पछिल्लो समय नेपाली युवाको बौद्धिकता कमजोर हुँदै गइरहेको बताए । अध्यक्ष यादवले पछिल्लो समय उदय भएका राजनीतिक पार्टीको कमजोर विचार, सिद्धान्त र राजनीतिक संस्कारका कारण पनि यस्तो हुन गएको बताए ।

‘नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक भए पनि राजनीतिकरुपमा उनीहरु कमजोर छन्,’ उनले भने, ‘नयाँ दलमा अधिकांश युवामा राजनीतिक संस्कार, विचार र सिद्धान्त कमी छ ।’ पछिल्लो समयका युवा अफवाह ‘र्युमर्स’का पछाडि बढी लाग्ने गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले आधुनिक राजनीतिक अध्ययनविना फिका हुने बताउँदै युवालाई अध्ययनमा बढी समय दिन सुझाव दिए ।
मधेश प्रदेश सरकार, आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै संघीय गणतान्त्रिक लोकतन्त्र संस्थागत गर्न सक्ने भन्दै औँल्याए । उनले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधमा विभिन्न षड्यन्त्र सुरु भएकाले युवा सचेत हुने अवस्था आएको बताए । ‘संघीयता समाप्त गर्न केही अनावश्यक तत्व सक्रिय भएकार्ले बौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ,’ उनले भने, ‘नत्र संघीयता धरापमा पर्नसक्ने स्थिीति आउन सक्छ ।’

मधेश प्रदेश सरकारका ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री सिहांसन सा कलवारले युवामा अध्ययनमा रुचि घट्दै गएकामा चिन्ता व्यक्त गरे । उनले पछिल्लो समय मुलुकमा आएको नकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाले अध्ययनमा रुचि नदेखाएको बताए । उनले मधेशका युवामा क्षमता हुँदाहुँदै पनि अफवाहतर्फ लागेको र बौद्धिकता प्रयोग गर्न नसकेको भन्दै दुःखेसो गरे । मन्त्री कलवारले मधेशका युवामा बौद्धिक सक्रियता घट्नाले समाजले सही गलत छुट्याउन नसक्ने भएको तर्क गरे । ‘मुलुकमा आएको नकारात्मक राजनीतिक ट्रेन्डका कारण अध्ययनको बानी घटेको छ, यसले नेपाली समाजले सही र गलत छुट्याउन सकिरहेको छैन,’ उनले भने, ‘शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्चस्तरको बौद्धिकता पाउन सक्नेछ ।’

जसपा मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जीवनमा निखारता ल्याउने बताए । पार्टीको विचार, नीति र सिद्धान्तबारे जानकारी पाएपछि समुदायमा लिएर जान सहज हुने बताए । उनले युवा अनुशासित हुन जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । केही दिन यतादेखि युवाको सवालमा बाटो बिराएको जस्तो महसुस भएको उनले टिप्पणी गरे । मधेश प्रदेश स्थापित गर्न पार्टीका युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए । उनले युवालाई सामाजिक परिवर्तनतिर लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवामा देखिएको केही अभाव प्रशिक्षणबाट प्राप्त हुने बताए । हामीमा सामाजिक दायित्व रहेको बताउँदै उनले तीनदिने प्रशिक्षणबाट सामाजिक उत्तरदायित्व पूरा हुने विश्वास व्यक्त गरे । शनिबारबाट सुरु भएको कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्नेछ । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका भ्रातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीको उपस्थिति छ । कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक हुन् । प्रशिक्षणमा राजनीति शास्त्र, समाजवाद शास्त्र, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य सञ्चालनका विधिप्रक्रिया, विश्व क्रान्तिलगायत विषयमा प्रशिक्षण दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button