गौर क्रान्तिद्वारको मूल्य के हो ?

[mashshare]
– सञ्जय साह मित्र

७ फागुन २००७ का दिन नेपालमा प्रजातन्त्र स्थापना भएको हो । देशमा प्रजातन्त्र आएको लामो समय बितिसकेको भए पनि खासै विकास भएन भन्ने गुनासो रहेको छ तर विकासको सबाल त जहिले पनि रहिरहन्छ । विकास कहाँको पूर्ण भएको छ र ? विकासको चाहना मानवमात्रलाई सदैव रहिरहन्छ । हामी विकसित भइसक्यौँ भनेर सन्तुष्ट हुनुपर्छ भन्न खोजिएको पनि होइन तर हामी जस्ताको तस्तै छैनौँ । ७ फागुन २००७ भन्दा पहिले भौतिक विकासमा जे जस्तो भए पनि समाज कस्तो थियो, समाजको मनोविज्ञान कस्तो थियो ? समाजमा सबै किसिमको चेतनाको अवस्थालाई मात्र तुलना गर्ने हो भने वर्तमानसित कुनै तुलनै हुन सक्दैन । अनि मानिसको औसत आयु कत्ति थियो ? मानिस किन निकै कम बाँच्दथे ? त्यत्तिवेला के कस्ता रोग तथा महामारीहरु चल्दथे ? रोगप्रति आम नागरिकको धारणा कस्तो थियो ? यी र यस्ता पक्षमाथि पनि दृष्टि दिँदा प्रजातन्त्रको सामाजिक मूल्य तथा मान्यताबारे बुझ्न सजिलो हुन्छ ।

२००७ सालभन्दा पहिले पनि राणाहरुको विरोधमा मानिसहरु नभएका होइनन् । कतिपय त सहिद नै भएका छन् । ती सबै सहिदहरुप्रति उच्च सम्मान रहेको छ तर धेरै सहिद यस्ता छन् जसको विषयमा खोजखबर हुन सकेको छैन । राणा शासनको दमनको सबै इतिहास खुल्नै सकेको छैन । समयक्रममा विस्तारै धेरै इतिहास विस्मृतिको कुहिरोमा ओझेल पर्दै गएका छन् । तथा यस्ता कतिपय पक्ष छन् जो वर्तमानलाई लाग्छ कि यसको इतिहाससित कुनै सम्बन्ध नै रहेको छैन । अझ कतिपयले त बहस पनि यही भनेर गर्न थाल्दछन् कि कसरी हुन पुग्यो इतिहास । भर्खर निर्माण भएको सामग्री पनि इतिहास हुन सक्छ र ? इतिहासको सम्मानमा गरिएको कार्यलाई पनि इतिहाससित जोडेर हेर्न नजान्दा वा इतिहासको सतही मूल्यांकन गर्न पुग्दा साँच्चिकै इतिहासमाथि नै पर्दा हाल्ने काम हुन्छ । २००७ को जनक्रान्तिमा गौरले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो र यसले खेलेको अद्वितीय भूमिकाको वास्तविक मूल्यांकन गर्न अझै पनि बाँकी नै रहेको छ भन्दा अत्युक्ति नहोला । रौतहटको सदरमुकाम गौरबाट मुख्य मार्ग भएर भारतको बैरगनिया बजारतिर जाँदा नेपाल–भारत मैत्री पुलको छेवैमा उत्तरपट्टि रहेको क्रान्तिद्वारले केही हदसम्म सोही जनक्रान्तिको स्मृति गराएको छ ।

क्रान्तिद्वार निर्माण भएको धेरै वर्ष भइसकेको छैन । क्रान्तिद्वार वर्तमान गौरको राजनैतिक पहिचानको परिचायक हो । गौरको एउटा आइकन हो । यसको इतिहास धेरै भइसकेको छैन तर यसले गौरको सम्मान बढाएको छ र गौरले यसमार्फत इतिहासको सम्मान बढाएको छ । क्रान्तिद्वारले गौरवासीको मानमा वृद्धि गरेको छ । गौरसित इतिहासको त्यो सम्पत्ति छ जसलाई यसले संकेत गर्दछ कि अरुसित छैन । यसैले क्रान्तिद्वारको शिर कुनै वीरको भन्दा कम ठाडो छैन । यसले एउटा विशाल गाथा भनिरहेको छ र यससित यस्ता गाथाहरुको भन्डार छ । क्रान्तिद्वार किन निर्माण गरियो ? यो प्रश्नले यसको उचाइभन्दा बढी यसको गहिराइलाई बोध गराउँछ । यस क्रान्तिद्वार निर्माणको निर्णय भएको पनि धेरै भएको छैन । निर्माणको लागि निर्णयकर्ताको पनि सम्मान छ किनभने यस निर्माणले क्रान्तिको स्मृतिको द्वारलाई पनि खोलेको छ । कहिले निर्माण भयो ? यो अब कुनै प्रश्न नै रहेन । इतिहासको गर्भबाट उम्रिएको यो क्रान्तिद्वार गौरको गौरव हो । यसले कम्तीमा २००७ को जनतान्त्रिक आन्दोलनलाई प्रतिनिधित्व गरेको छ र अलिकति अझ पहिलेको त्यो बौद्धिक सचेतना जसले गौरमा पुस्तकालय स्थापना गर्नको लागि प्रेरित गरेको थियो, त्यसलाई पनि समेट्दछ । वर्तमानको कलाकुञ्ज पुस्तकालयले पनि क्रान्तिमा अप्रत्यक्ष योगदान दिएको थियो ।

गौरमा ३ मंसिर २००७ का दिन निकै ठूलो लडाईं भएको थियो । तत्कालीन राणा शासनको विरोधमा सयौँको जुलुसले गौर परिक्रमा गरेको थियो । गौरमा एक किसिमले आन्दोलनकारीको कब्जा भइसकेको थियो तर जब आन्दोलनकारीको समूहले अड्डामाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको थियो । अड्डाको माथिल्लो भागमा क्रान्तिको झन्डा फहराउँदै गरेको अवस्था थियो तब गोली चल्यो । नन्दु साह बनियाँ त्यहीँ सहिद भए । निसन्देश यस दिन गौरले रगत बगायो । क्रान्तिकारीको रगतले गौरको भूमि रातो भयो । जताततै लखेटी लखेटी आन्दोलनकारीलाई मार्ने काम भयो । कति जना मारिए ? यसको उत्तरको खोजी सामान्य छैन । त्यस घटनालाई नजिकबाट नियाल्नेहरु भन्दछन्, त्यो वर्ष गौर बजारको आसपासको खेतमा धान काटिएन किनभने जताततै मानिसको लास छ भन्ने सुनिन्थ्यो । अब मानिसको लास भएको ठाउँमा कोही खेतमा जान्छ ? देशको प्रजातान्त्रिक आन्दोलनमा रौतहटले निकै ठूलो बलिदान दिएको दिनको रुपमा यस दिनलाई लिइएको छ । अनि रौतहटलाई क्रान्तिको भूमि र गौरलाई क्रान्तिको गौरवभूमि मानिएको छ । तर पनि, फेरि प्रश्न उठ्न सक्छ – बलिदानी संघर्षको यस क्रान्तिद्वारसित के सम्बन्ध छ ?

२००७ को जनक्रान्ति नेपाली काँग्रेसको नेतृत्वमा भएको थियो । हुन त, नेपालमा औपचारिक रुपमा कम्युनिष्ट पार्टीको स्थापना हुुनुभन्दा पहिलेदेखि नै भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा रौतहटका केही युवा तथा आन्दोलनकारी समेत पुगेको इतिहास रहेको छ । यसको मुख्य कारण भारतमा भएको स्वतन्त्रता संग्राम हो । स्वतन्त्रता संग्राममा रौतहटका पनि केही मानिसको सहभागिता रहेको थियो । यसै गरी भारतका कम्युनिष्ट नेताको नातागोता, आफन्त रौतहटमा रहेको कारणले पनि चिनजान, आवतजावत, वैचारिक आदानप्रदान तथा समर्पण रहेको थियो । गौरको छिमेकी भारतीय बजार बिहारको सीतामढी जिल्लामा पर्ने सानो बजार हो । सीतामढी जिल्लाको सदरमुकाम सीतामढी सहर हो जुन निकै ठूलो छ । बैरगनियाभन्दा निकै टाढा पनि पर्छ । त्यत्ति वेलाको बैरगनियाको भौगोलिक अवस्था कस्तो थियो भने पूर्वमा बागमती नदी, पश्चिममा बकैया नदी, दक्षिणमा पनि बकैया नदी र उत्तरमा नेपालको सिमाना । कुनै पनि नदीमा कतैबाट पुल थिएन । यसकारण भारतीय आन्दोलनकारी मुख्य गरी सीतामढी तथा पूर्वी चम्पारण जिल्लाका आन्दोलनकारीका लागि यो सुरक्षित स्थान थियो । आवश्यक पर्दा तुरुन्तै नेपाल पस्न सजिलो थियो । गौर वा आसपासको गाउँमा कुनै पनि मार्गबाट वा खेतैखेत पनि सजिलै आवतजावत हुन सक्थ्यो । भारतमा अंग्रेजको विरोधमा र नेपालको राणाको विरोधमा आन्दोलन गर्नेहरु गोप्यरुपमा एकले अर्कालाई सहयोग गर्दथे । राजनैतिक, आर्थिक, नैतिक तथा प्रशिक्षणात्मक सहयोग आदानप्रदान पनि भएको हुनुपर्छ । मुख्य कुरो आन्दोलनमा समर्थनको हो । के भनिन्छ भने महात्मा गान्धीले सुरु गरेको सत्याग्रहमा समर्थन जनाउन रौतहटबाट सयौँ मानिस मोतिहारीसम्म पुगेका थिए रे । कैयौँ बैलगाडीमा सामान बोकेर क्रान्तिकारीहरुदेखि लिएर महात्मा गान्धीलाई हेर्न चाहनेहरु मोतिहारीसम्म पुगेका थिए । स्पष्ट छ, नेपालमा आन्दोलनको वातावरण बन्नुअघि नै रौतहटमा क्रान्तिको लागि मानिस तयार भइसकेका थिए ।

सम्भवतः यिनै र यस्तै पृष्ठभूमिमा बैरगनियामा नेपाली काँग्रेसको सम्मेलन २००७ भएको थियो । हो, नेपाली काँग्रेसको सम्मेलन बैरगनियामा भएको थियो जसलाई अहिलेसम्म पनि बैरगनिया सम्मेलनको नामले चिनिन्छ । बैरगनिया सम्मेलनमा रौतहटले धेरै सहयोग गरेको थियो । बैरगनिया सम्मेलन त नेपालकै लागि भएको थियो । नेपालमा प्रजातन्त्र स्थापनाको लागि भारतको बैरगनियामा भएको नेपाली काँग्रेसको सम्मेलनले राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको थियो । सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको बैरगनिया सम्मेलनपछि नेपालमा राणा शासनविरुद्ध आन्दोलनको आँधीबेहरी चलेको थियो । यही आन्दोलनले नेपालबाट राणा शासनलाई जरैदेखि उन्मूलन गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना गरेको थियो । एक सय वर्षभन्दा लामो समयदेखि चलेको जहानियाँ शासनको अन्त्य गरेको थियो । देशमा जनताको लागि नयाँ युगको सुरुआत भएको थियो ।

देशको भाग्यको द्वार खोल्ने प्रजातान्त्रिक आन्दोलन प्रारम्भ गर्ने निर्णय गर्ने ठाउँमा नेपालबाट सर्वसाधारण आवतजावत गर्ने ठाउँ नै यही थियो । अझ यो पनि भनिन्छ कि जुन दिन रौतहटमा ठूलो आन्दोलन भएको थियो, त्यस दिन मुख्य आन्दोलनकारीहरु जो भारतमा थिए, तिनीहरु नेपालमा आन्दोलनको लागि गौरमा प्रवेश गर्ने बाटो यही नै हो । अनि ती महान योद्धाको स्वागत भएको ठाउँमा क्रान्तिको द्वार बनाउनु प्रजातान्त्रिक आन्दोलनप्रति उच्च श्रद्धा हो । आन्दोलनको सम्मान हो, क्रान्तिको सम्मान हो र आन्दोलनमा सहादत प्राप्त गरेकाहरुप्रति एक श्रद्धाञ्जली पनि हो । हुन त यो सहिद स्मारक भने होइन तर क्रान्ति स्मारक भने अवश्य हो ।

अलिकति आवश्यकता छ, क्रान्तिद्वारको महत्व झल्काउने लेखोटको । यस ठाउँमा कुनै लेखोट रहेको छैन । क्रान्तिद्वारमा कुँदिएका चित्राकृतिहरुको बारेमा थोरै भए पनि विश्लेषण गरिदिने केही पनि देखिएको छैन । सर्वसाधारण जो यसको बारेमा केही बुझ्न चाहन्छन् त कहाँ गएर कस्लाई भेट्ने ? जान्न चाहने तर कसैलाई सोध्न त्यत्ति मन नपराउनेहरु पनि हुन्छन् । यस्ता जिज्ञासु मानिसका लागि यो क्रान्तिद्वारको निर्माणको आधार, निर्माण भएको समय तथा गौरका सहिदहरुका बारेमा केही जानकारी आवश्यक हुन्छ । समयको माग हो, गौरको ऐतिहासिक क्रान्तिका साथै २००७ को जनक्रान्तिको भावलाई निरन्तर विस्तार गर्न, इतिहासप्रति गरिमाबोध गर्न र इतिहासबाट पाठ सिक्न शिलापत्र वा साधारण बोर्ड सबैले देखिने गरी निर्माण हुनु निकै महत्वपूर्ण छ । त्यसले क्रान्तिद्वारको मूल्य र महत्वको पनि व्याख्या गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button