मुख्यमन्त्रीलाई विश्वासको मतमा समस्या छ ?

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिने तयारीमा छन् । तर उनले सरकार सञ्चालनको खाका दिएपछि मात्रै विश्वासको मत दिने भनेर मधेश प्रदेश सरकारका गठबन्धनका दलहरु नै विभाजित बनेका छन् । फागुन ४ गते मुख्यमन्त्री यादवले विश्वासनको मत लिने तयारी गरिरहँदा सत्तारुढ दलहरू यो दिनका लागि तयार भएका छैनन् ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै मुख्यमन्त्री फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप फागुन ४ गते यसको तयारी गरेका हुन् । सरकार सञ्चालनका स्वरूप र शैलीमा सत्तारुढ दलहरुले मुख्यमन्त्री यादवको खाका मागेका छन् । अहिलेसम्मकै शैलीलाई विश्वासको मत दिन नसकिने उनीहरुको भनाइ छ । नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साह सरकारमा सहभागी दलहरूबीच ठोस र बुँदागत सहमतिको पक्षमा छन् । यसो नभए विश्वासको मत दिन नसकिने भन्दै चेतावनी दिइरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीकी प्रमुख सचेतक रानी तिवारीले सरकार जसपाको मात्र जस्तो देखिएको भन्दै सरकारलाई संयुक्त प्रकृति र चरित्रको बनाउने विषयमा सहमति जरुरी भएको बताइन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज बिहीबार बस्ने केन्द्रीय गठबन्धन बैठकले विश्वासहितका विषयमा छलफल हुने जानकारी दिए । उनले मधेश प्रदेशको अहिलेको सरकारले विश्वासको मत पाउनेमा द्विविधा नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button