
सञ्जय मिश्रा
रौतहट ।
संघीयतापछि गाउँ गाउँमा सिंहदरवारको अधिकार आउँछ, खोजे जस्तै भने जस्तै जनचाहना अनुसार विकास हुन्छ भनेर नेपाली जनताले अपेक्षा गरेका थिए । तर संघीयतापछि सिंहदरवारको अधिकार, जनचाहना अनुसारको विकास त आएन, आयो त गाउँ गाउँमा बेथिति, भ्रष्टाचार र बजेटको भागबण्डाको लड़ाई । यसको ज्वलन्त उदाहरण हो रौतहटको फतुवा बिजयपुर नगरपालिका, निर्वाचित जनप्रतिनिधिबीच विभिन्न कारणले मतभेद हुँदा नगरपालिका महिनौसम्म अनिर्णयको बन्दी बनेको थियो ।
समयमा नगरसभा नहुँदा नगरपालिकाको आर्थिक कारोवार बन्द भएर झण्डै ३५० शिक्षक कर्मचारीले गत साउनदेखि तलब सुबिधा पाउनबाट वञ्चित भएका छन् । बल्लतल एकसाता अघि मेयर अम्बेया खातुन र नेपाली कांग्रेसका वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यबीच सहमति भएपछि यही फागुन ३ गते नगरसभा हुने निश्चित भएको छ । तर नगरसभा हुनु अघिनै नगरपालिकाका जनप्रतिनिधिबीच अविश्वासको ठूलो खाडल बनेको छ । यसअघि निलम्बित मेयर गोपाल राय यादवलाई बजेट दिने कि नदिने विषयमा बिवाद थियो भने अहिले विवाद भएको छ बजेट कसाले र कसरी चलाउने भनेर ।
नगरसभा हुनु अघि शुक्रबार फतुवा बिजयपुर नगरपालिकामा बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र कुनै पनि विकास निर्माणको काम एकलाख रुपैयाँ भन्दा बढीको गर्नुपरेमा अनिवार्य टेण्डरबाट गरिनुपर्ने निर्णय गरेको छ । कार्यवाहक मेयर खातुनको अध्यक्षतामा सम्पूर्ण कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको मेयरका श्रीमान महमद सेराजले बताए । नगरपालिकाबाट सिलिङ्ग अनुसारको बजेट पाएपछि विकासमा बेथिति हुने जनप्रतिनिधिबीचको अविश्वासको कारण जिल्लाको १८ स्थानिय तह मध्ये पहिलोपटक फतुवा विजयपुरमा यस्तो निर्णय भएको छ । फतुवा विजयपुरको नेपाली कांग्रेसबाट निर्वाचित मेयर यादव नदीको टेण्डरमा दोषी ठहर भएर अख्तियारद्वारा निलम्बित भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक मेयर बनेकी छन् ।
नेपाल सरकारले ७० लाख रुपैयाँसम्मको बजेटमा उपभोक्ता समिति मार्फत विकास निर्माणको काम गर्न सक्ने ब्यवस्था छ । विकास निर्माणको कामहरु भई पनि रहेका छन् । पछिल्लो समय निर्माण व्यवसायीको बेथिति बारे कुनै कुरा लुकेको छैन, टेन्डरको ३५–४० प्रतिशत काममा करोडौँको काम साकार गरेर निर्माण व्यवसायीले आफैले काम नगरेर पेटी ठेकदार मार्फत गराईरहेको देखिएको छ । बिना अनुभव, बिना साधन स्रोतका पेटी ठेकदारले गरेको कामको गुणस्तरमाथि सदैव प्रश्नचिन्ह उठ्दै आएको छ । यस्तो अवस्थामा फतुवा विजयपुरले प्रायः सम्पूर्ण विकास निर्माणको काम टेण्डरबाट गराउँदा कस्तो परिणाम आउँछ त्यो हेर्न अझै केहीसमय कुर्नु पर्छ ।






