फलफूल तथा नर्सरीमा २३ वर्ष

[mashshare]
–एसपी गौरव

लालबन्दी नगरपालिका–५ शान्तिटोलका युवा मोहन बस्नेतले १७ कठ्ठा जमिनमा फलफूल तथा नर्सरी बनाएर बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका बस्नेतले २०५७ सालबाट फलफूल तथा नर्सरीको काम सुरु गरेका हुन् ।
करिब २३ वर्षदेखि फलफूल तथा नर्सरीमा लागेका बस्नेत २०५७ सालमा काम खोज्दै जाँदा नर्सरीमै काम पाएको र त्यहीँ सिकेर चार वर्षपछि आफ्नै नर्सरी बनाएर काम सुरु गरेको सुनाउँछन् । २५ लाख रुपैयाँबाट सुरु गरेको फलफूल तथा नर्सरी खेती एक करोड ५० लाख रुपैयाँ भन्दा माथिको भएको र त्यही फलफूल तथा नर्सरीबाट भएको कमाइले गाडी घोडा किनेको र घरघडेरी जोडेको र परिवार चलाएको बस्नेतले बताए ।

सुरुमा स्थानीय र विभिन्न बैँकबाट २५ लाख रुपैयाँ ऋण लिएर फलफूल तथा नर्सरी खेती सुरु गरेका बस्नेतले अहिले १५ जनालाई रोजगारी दिएका छन् । फलफूल तथा नर्सरी खेतीको कुनै पनि तालिम नलिए पनि काम गर्दा गर्दै सिकेको र अहिले आफूले देशका मुख्य सहरहरु जस्तैः काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, हेटौँडा र विराटनगरका साथै अन्य धेरै सहरमा फलफूल तथा नर्सरीमा भएका उत्पादन बिक्री भइरहेको उनले सुनाए ।

पारिवारिक साथ पाएका बस्नेतले तरकारीबाहेक सबै प्रकारका फलफूलका साथै नर्सरीका विरुवा आफ्नै बगैँचामा उत्पादन गरेका छन् । सिजनल फूल करिब डेढ महिनामा र अन्य प्लान्ट करिब छ महिनाका साथै फलफूलका विरुवा करिब दुई वर्षमा तयार हुने र भारतीय तथा विदेशी फलफूलका साथै नर्सरीका विरुवा नेपालमा आयात हुँदा आफूहरुलाई प्रतिष्पर्धा गर्न कठिन भए पनि बजार खासै नराम्रो नरहेको उनको भनाइ छ । विश्वव्यापी कोरोना महामारी र देशमा देखिएको आर्थिक संकटले आफ्नो व्यापारमा केही असर गरे पनि जीविका चलाउन कामदारलाई मासिक पारिश्रमिक दिन कुनै समस्या नरहेको उनको भनाई छ ।

नेपाली किसानले गरेको मेहनत, लगानी र लगनशीलतालाई विदेशी फलफूलका साथै नर्सरीले निकै प्रभाव पारेको उनको ठहर छ । छिमेकी देश भारतमा फलफूल तथा नर्सरी खेती गर्ने किसानका लागि राज्यले ८० प्रतिशतसम्म अनुदान दिने गरेको र अवैध बाटोबाट नेपाल प्रवेश गर्दा आफूहरु राज्यको अनुदानविना व्यावसायिकरुपमा फलफूल तथा नर्सरी खेती गर्ने मारमा परेको उनको गुनासो छ ।
‘रासायनिक मल तथा विषादी हटाऔँ, जैविक खेतीको निर्माण गरौँ’ भन्दै सुरु गरेको फलफूल तथा नर्सरीमा स्वदेशी तथा विदेशी फलफूल तथा फलका सम्पूर्ण विरुवाः आँप, लिची, बाह्रमासे कागती, बाह्रमासे आँप, बाह्रमासे कटहर, किबी, एभोकाडो, अँगुर, धार्मिक वनस्पतिः बुद्धचित्त, श्रीखण्ड, रक्तचन्दन, पिपल, वरलगायत अन्य धार्मिक विरुवा उत्पादन भइरहेका छन् भने अफिस, घर, होटेल तथा कोठा सजाउने फेन्सी विरुवाका साथै कुनै पनि विवाह तथा पार्टीमा सजावटका लागि गमला पनि भाडामा उपलब्ध गराउनुका साथै आकर्षक बगैँचा निर्माण गर्नु परे बस्नेतले सेवा प्रवाह गरिगरेका छन् ।

‘हामी नेपाली किसानले उत्पादन गरेको फलफूलका साथै नर्सरीको प्रचारप्रसार र राज्यको लगानी नहुँदा कार्यालय र स्थानीय तहमा सजावटका साथै बजारमा विभिन्न कार्यक्रममा पनि भारतीय फलफूल र नर्सरीको भर पर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘राज्यले मजस्ता स्वदेशमै केही गरौँ भनेर लागेका युवा व्यवसायीलाई बीउ,मलका साथै प्राविधिक तथा आर्थिक सहयोग गरे अझैँ राम्रो हुनेथियो ।’
‘कोरोना महामारीपछि आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निरास हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ । फलफूलका बिरुवा उत्पादन गरी बिक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेस सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउनेदेखि सजावटका लागि फलफूलका साथै नर्सरीका विरुवा पुर्याउने बस्नेतले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए ।

‘व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दै छु, राज्यले अनुदान दिए थप सजिलो हुन्थ्यो,’ उनले भने, ‘मेहनत गरे घरपरिवारसँगैै बसेर जीविका चलाउन कुनै समस्या छैन ।’ गाउँ तथा नगरपालिका कार्यालय प्रायःसबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरिद गर्ने गरेको उनले बताए ।

करिब २३ वर्षदेखि यहीँ काम गर्दै आएका बस्नेतले कहीँकतैबाट पनि फलफूल तथा नर्सरीका लागि अनुदान–सहयोग नपाएको बताए । उनले भने, ‘हामी जस्ता व्यावसायिक खेती गर्ने युवाले अनुदान तथा सहयोग नपाउने रहेछौँ । झोले फर्महरुले अनुदान पाउँछन् ।’ उनले राज्यले दिने अनुदान झोले फर्महरुले पाउने हो भने अनुदान पूर्णरुपमा कटौती गरी राज्यलाई आर्थिक भार कम गर्न सुझाव दिए । युवा स्वरोजगारीमा सरकारले लगानी बढाए युवालाई कृषि र नर्सरीमै लगाउँदा पनि विदेशिनु पर्ने अवस्था नआउने बस्नेतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button