
अनिल पोखरेल
राजविराज ।
कम उमेरकी बालिकाको उमेर बढाएर किर्ते जन्मदर्ता बनाइदिने कार्यमा संलग्न आरोपमा पक्राउ परेका थप एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार पक्राउ परेका सप्तरी, विष्णुपुर गाउँपालिका वडा नम्बर ६ का मनोज रामलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । रामलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार गाउँबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेकालाई अदालतमा पेश गर्दा पुर्पक्षका लागि कारागार चलान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवम् डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए । अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले रामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । रामसहितका आठ जना मिलेर कम उमेरकी छोरीको बढी उमेर देखाएर जन्मदर्ता बनाएको भन्दै अग्निसाइर कृष्णासवरण गाउँपालिकाका वडा नम्बर ४ का ललित इसरले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले किर्ते मुद्दा चलाएको थियो । सोही मुद्दामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडा नम्बर ४ का सचिव रमेश घिमिरे र कार्यालय सहयोगी देवकान्त चौधरीलाई सप्तरी जिल्ला अदालतले पुस २२ गते नै पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
ललितले सचिव घिमिरे, कार्यालय सहयोगी चौधरी, कम्प्युटर अपरेटर सुनिता चौधरी, किर्ते जन्म दर्ता बनाउन आउने विष्णुपुर गाउँपालिका वडा नम्बर ६ का नारायण राम, शिबु राम, जितु राम, मनोज राम र अशोक रामविरुद्ध जाहेरी दिएका थिए । अन्य व्यक्ति फरार रहेको र उनीहरूको पनि खोजी भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवम् डिएसपी न्यौपानेले जानकारी दिए । इसरले १३ वर्षकी छोरी बबिताको किर्ते जन्म दर्ता बनाएर २१ वर्षीय युवकले विवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । छोरीको उमेर २१ वर्ष देखाई युवकले विवाह गरेको उनले बताएका थिए । विष्णुपुर गाउँपालिका वडा नम्बर ६ का मनोज कुमार रामले बवितासँग किर्ते जन्म दर्ता बनाएर कपिलवस्तु जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।
रामले २१ वर्ष उमेर देखाउँदै बवितासँग विवाह गरेको दाबी गरिरहँदा अग्निसाइर कृष्णसवरण गाउँपालिकामा यसअघि गरिएको उनको जन्म दर्ता अनुसार बबिताको उमेर १३ वर्ष २ महिना १५ दिन मात्रै देखिएको थियो । रामले बबिताको जन्म २०५८ जेठ ११ गते भएको भन्दै जन्म दर्ता बनाएका थिए । यो अनुसार उनको उमेर २१ वर्ष पुग्छ । तर, वडा कार्यालयको रेकर्डमा बबिताको जन्म २०६७ साल वैशाख २४ गते भएको भन्दै जन्मदर्ता दिइएको छ । वडा कार्यालयले २०७५ साल वैशाख २५ गते बबितालाई यो जन्म दर्ता दिएको ललितले जाहेरीमा उल्लेख गरेका थिए । ‘बबिताकी पिता ललित कुमार इसर र आमा सावित्रा को २०६३ जेठ १२ गते विवाह भएको तर किर्ते गरी बनाइएको नक्कली जन्म दर्तामा बबिताको जन्म २०५८ जेठ ११ गते नै उल्लेख गरिएको छ,’ ललितले भने । वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढड्ढा (पुरानो रजिष्टर) मा बबिताको नाम उल्लेख गरी अर्को जन्म दर्ता दिइएको पाइएको उनले बताए ।






