नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्यसमिति चयन

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्यसमिति चयन भएको छ । माघ २० र २१ गते काठमाडौँमा सम्पन्न महासंघको १०औँ साधारणसभा तथा पाँचौँ महाधिवेशनबाट ४३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । देशभरका चार सय ५३ जना प्रतिनिधिको प्रतिनिधित्व भएको उक्त अधिवेशनमा केन्द्रीय अध्यक्षमा रूपन्देहीका विष्णु तिवारी, वरिष्ठ उपाध्यक्षमा काठमाडौँका गोपाल ढकाल र महासचिवमा चितवनका अर्जुनप्रसाद सापकोटा निर्वाचित भएका हुन् । मकवानपुरबाट बागमती प्रदेश उपाध्यक्षमा इन्द्रप्रसाद नेपाल तथा सदस्यहरूमा अजीव भट्टराई र राजु नेपाल निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल मुद्रण उद्योग महासंघको अध्यक्ष खुमकान्त रेग्मीको अध्यक्षतामा भएको महाधिवेशनले छापाखाना सम्बन्धी नयाँ ऐन निर्माण गरी मुद्रण व्यवसायलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने, एक प्रदेश एक मुद्रण प्राविधिक शिक्षालय स्थापना हुनुपर्ने, भन्सार नीति सुधार गरी छपाई सामानको कच्चा पदार्थ आयात गर्दा कच्चा पदार्थको भन्दा एक तह बढी भन्सार दर लगाउनुपर्ने विषय उठाएका छन् ।

त्यसैगरी, जिल्ला भित्रको छपाई कार्य जिल्लामा गर्नुपर्ने नीति बनाउनुपर्ने, छपाइको कामको टेन्डर माग गर्दा छपाई कार्यमा दर्ता भएका छापाखानाहरूसँग मात्र माग गर्नुपर्ने, सप्लायर्स ट्रेडर्सहरूले छपाई कार्यको टेन्डर बिड गर्न नपाउनुपर्ने, पाठ्यपुस्तकहरूको छपाई कार्य निजी क्षेत्रलाई दिँदा समयमै पाठ्यपुस्तक जिल्ला जिल्लामा पुग्ने भएकोले निजी क्षेत्रलाई छपाई गर्न दिनुपर्ने, विदेशमा छपाई भइरहेको छपाई कार्य स्वदेशमै हुनुपर्नेलगायतका विषयसमेत महाधिवेशनले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button