सप्तरीका पालिकामा बेथिति नै बेथिति

[mashshare]

अनिल पोखरेल
राजविराज ।
मधेश प्रदेशका आठ जिल्लामध्ये सप्तरी चर्चा र बदनामको अग्रपंक्तिमा आउने गर्छ । सप्तरीमा कहिले मन्त्री आफैँ प्रहरीबाट कुटिन्छन् त कहिले सप्तरीबाटै निर्वाचित संघीय सांसद् प्रहरी नियन्त्रणमा पर्छन् । कहिले पालिका अध्यक्षविरुद्ध डाँका मुद्दामा उच्च अदालतबाट परमादेश हुने गर्छ । अर्को बदनामको पाटो हो सप्तरीका १८ पालिकामध्ये चार पालिका प्रमुख भ्रष्टाचार अभियोगमा मुछिएर पालिका प्रमुखविहीन बन्नु । र, निःशुल्क वितरण गरिने सेनेटरी प्याडमा समेत भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता हुनु । यस्तै, पछिल्लो पटक विभिन्न कारण तीन पालिकाको चर्चा चुलिएको छ । कञ्चनरूप नगरपालिकामा आर्थिक वर्ष २०८०–८१ को नगर सभाबाट उपप्रमुख मुना कुमारी पोखरेल र बहुमत वडा अध्यक्षले विरोध गरेपछि उत्पन्न विवाद अहिले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे सरुवा भई नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहसम्म जोडिएको छ ।

नगर नगर प्रमुख गुप्ता र प्रमुख प्रशासकीय अधिकृत घिमिरेबीचको टकराव निकै चर्चामा रह्यो । जबकि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच हात हालाहाल भएको या नभएको विवादले नगरको वातावरण अस्तव्यस्त भएपछि पुस २३ गते प्रमुख जिल्ला अधिकारी किरण थापाको रोहबरमा ३ बुँदे सहमतिका साथ मिलापत्र भएको थियो । कञ्चनरूपका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे मोरङ जिल्ला समन्वय समितिमा गएपछि नयाँ आएका रामनारायण साह पालिकामा हाजिर हुन नपाउँदै उनका बारे सामाजिक सञ्जालमा कमिसन उठाउ र अनियमितता गर्न सिपालु भएकालाई नगर प्रमुखले खोजेर ल्याएको आरोप प्रत्यारोप चलिरहेको छ । अधिकृत साह सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाबाट सप्तरीको कञ्चनरूपमा आउने भएका छन् ।

यसैगरी, राजगढ गाउँपालिकामा गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डल र कृषि प्राविधिक रामविलास यादवले आफ्ना नातागोतालाई कर्मचारी नियुक्त गर्न चलखेल गरेको स्थानीयले आरोप लगाएका छन् । आफन्तलाई कर्मचारी नियुक्त गर्न केही कर्मचारीसँगको मिलोमतोमा अध्यक्ष मण्डलले कर्मचारी नियुक्ति प्रक्रियाविपरीत गोप्य सूचना निकालेको स्थानीय पशुपति यादवले आरोप लगाए । गाउँपालिकाले विभिन्न ३ पदमा ७ कर्मचारी नियुक्त गर्न खोजेको बताउँदै उनले कर्मचारी नियुक्तिको सूचना कुनै पनि पत्रपत्रिकामा प्रकाशित नगरी पालिकाको वेबसाइटमा मात्र प्रकाशन गरेको जानकारी दिए ।

अध्यक्ष मण्डल र कृषि प्राविधिकले आफ्ना आफन्तलाई सबै पदमा नियुक्त गर्न सेटिङ मिलाएर परीक्षाको तयारी गरिरहेको उनले आरोप लगाए । राजगढ गाउँपालिका–१ का मुकेश यादवले ‘राम्रालाई भन्दा हाम्रा’लाई कर्मचारी नियुक्त गर्न गाउँपालिका अध्यक्ष नै लागिपरेको आरोप लगाए । उनले विधि प्रक्रिया नै उल्लंघन गरी थालिएको कर्मचारी नियुक्ति निष्पक्ष हुनेमा शंका व्यक्त गरे । उनका अनुसार, कृषि स्तानक प्राविधिकमा १ जनाको कोटामा ६ जना, पोषण स्वयम्सेवकमा १ जना कोटामा ९ जना र अनमी ५ जनाको कोटामा ३१ जनाको निवेदन परेको छ । तीमध्ये सेटिङमा अध्यक्ष र कर्मचारीको आफन्त नियुक्त हुने सुनिश्चितता गरी परीक्षाको नाटक गरेको उनको आरोप छ । राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै पालिकामा यस्ता आरोप धेरै आउने र अहिले कर्मचारी नियुक्त नभइसकेको बताए । उनले भने, ‘परीक्षामा पास गर्ने उम्मेदवारलाई नियुक्त गर्छौँ, पालिकामा सिसि क्यामेरा छ, यस्तो चलखेल केही हुन पाउँदैन ।’

यसैगरी, सप्तरीको खडक नगरपालिकाका सेवाग्राहीको व्यापक जनगुनासो आउनथाले पछि कार्यरत २२ कर्मचारीलाई स्पष्टिकरण सोधिएको छ । कार्यालय समयमा उपस्थित नभएका कर्मचारीलाई आइतबार प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले स्पष्टिकरण सोधेका हुन् । जनप्रतिनिधिले कार्यालय अनुगमनक्रममा २२ कर्मचारीले कार्यालय समयअगावै कार्यालय छाडेको पाइएको जनाइएको छ । खडक नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतसहित नगर कार्यपालिका सदस्यको टोलीले दिउँसो ४ बजे अनुगमन गर्दा अनुपस्थित कर्मचारीलाई २४ घण्टे स्पष्टिकरण सोधिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । तोकिएको समयभित्र के कुन कारणले कार्यालयमा नरहेको कारण खुलाइ स्पष्टिकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

स्पष्टिकरण सोधिएका कर्मचारीहरु
बसन्त कुमार दास (प्रशासकीय अधिकृत), मनोज कुमार साह (सूचना प्रविधि अधिकृत), प्रकाश कुमार चौधरी (रोजगार संयोजक), राधेकृष्ण साह (सबइन्जिनियर), अनिता कुमारी साह (भविनि), सुभाष चौधरी (अमिन), रंजित कुमार चौधरी (एमआयएस अपरेटर), जियाउल हक (एमआइएस अपरेटर), लक्ष्मी कुमारी चौधरी (पोषण स्वयमसेवक), रेखा कुमारी चौधरी (उद्यम विकास सहजकर्ता) ध्रुव प्रकाश विक (सह लेखापाल), प्रकाश कुमार चौधरी (सकअ), देव नारायण यादव (कास), पुनम कुमारी चौधरी (सबइन्जिनियर), सुरज कुमार चौधरी (रोलर चालक), भगवती प्रसाद चौधरी ( कास) सिता कुमारी चौधरी (सामाजिक परिचालिका), देवानन्द चौधरी (रोजगार सहायक), भागिरथ मण्डल (अ.सबइन्जिनियर), प्रियंका चौधरी (सब इन्जिनियर), गया प्रसाद पासवान (माली), रामाकान्त चौधरी (प्रशासन अधिकृत बैँसी)

यता पनि उस्तै
सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यले सोमबार नगरपालिकाको प्रत्येक फाँटमा गई ध्यानाकर्षण पत्र बुझाएका छन् । आफूहरूलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको मागसहित उपमेयर सरिता देवी यादव सिपलियाको नेतृत्वमा फाँटफाँटमा ध्यानाकर्षण पत्र बुझाइएको हो । पाँच वडा अध्यक्ष तथा २५ वडा सदस्यसहित पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राविधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

आफ्नो नेतृत्वको टोली पत्र बुझाउन जाँदा मेयर वीरेन्द्र माझीले आफू कार्यपालिकाको बैठकमा व्यस्त रहेको र बैठक सकिएपछि मात्र समय दिने बताएपछि फाँटफाँटमा गएर ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उपमेयर सिपलियाले बताइन् । प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेखिएको ध्यानाकर्षण पत्रमा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण हुँदा आफूहरूलाई पूर्ण बेवास्ता गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द गरी नगरको नीति तथा कार्यक्रम र बजेट स्थानीय सरकार सञ्चालन ऐन बमोजिम तथा पारदर्शी हुनुपर्ने माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button