
मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाले धार्मिकस्थल र शिक्षण संस्था आसपास मदिरा र सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिले महानगरका मठमन्दिर, मस्जिद, विद्यालय र क्याम्पस भवन तथा जग्गामा मदिरा र सूर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो ।
वीरगंज महानगरका उपप्रमुख तथा समिति संयोजक इम्तियाज आलमको अध्यक्षतामा बसेको बैठकले धार्मिकस्थल र शिक्षण संस्थाका भवन र जग्गामा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्रीवितरण र कारोबारमा रोक लगाउने निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले जानकारी दिए । बैठकमा स्वास्थ्य ऐनअनुसार मठमन्दिर र शिक्षालय वरिपरि पाँच सय मिटर क्षेत्रमा मदिरा र सूर्तीजन्य पदार्थ बेच्न नपाइने विषयमा छलफल भए पनि हाललाई विद्यालय, क्याम्पस तथा मठमन्दिर, मस्जिद जस्ता धार्मिकस्थलका भवन र जग्गामा कडाई गरिएको भट्टराईले बताए ।
बैठकले महानगरका सहकारी अनुगमन प्रभावकारी बनाउने, अनुगमनक्रममा दिइएको निर्देशन पालन भए नभएबारे बुझ्ने, निष्क्रिय सहकारी खारेजी प्रक्रियामा लैजाने र विद्यालय अनुगमन गर्ने निर्णय गरेको छ । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत भट्टराई, खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी, उपभोक्ता मञ्चका अजित भुजेललगायतको सहभागिता थियो ।






