मेयर थापाको व्यक्तित्वमाथि चलचित्र

[mashshare]

एसपी गौरव,
सर्लाही ।
बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको नाममा दीपेन्द्र के खनाल निर्देशक भएर ‘मेयर’ फिल्म निर्माणका लागि सुटिङस्थल अनुगमन तथा पहिचान सुरु भएको छ । बागमती नगरपालिकाका नगर प्रमुख थापाको नेतृत्वमा रहेका जनप्रतिनिधिले गरेका विकास निर्माणका साथै सुशासनलाई समेटेर ‘मेयर’ फिल्म निर्माणका लागि सुटिङस्थल अनुगमन तथा पहिचानमा सुरु भएको नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका नगर प्रमुख थापामाथि दीपेन्द्र आफैँ निर्माता भएर फिल्म ‘मेयर’ बनाउँदैछन् । दीपेन्द्रले यो फिल्मको छायांकन सर्लाहीकै बागमती नगरपालिकाका विभिन्न विकास निर्माणका साथै नगर प्रमुख थापाले समाजमा खेलेका भूमिकामा केन्द्रित हुने बताए । बागमती नगरपालिकाको विकास निर्माणका कामलाई समेटेर फिल्म निर्माण हुने बागमती नगरपालिका–११ का वडा अध्यक्ष प्रदीप आचार्यले जानकारी दिए ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो मानव निर्मित ताल बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेर विशेष चर्चामा आएका नगर प्रमुख थापाको नेतृत्वको स्थानीय सरकारले बागमती नगरपालिकामा दर्जनौँ नगर गौरवका योजना सञ्चालन गरिरहेको छ । पहिलो कार्यकालमा नगर प्रमुख थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेलेका थिए । जसअनुसार दक्षिण एसियाकै सबैभन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी (भरत ताल) निर्माण सुरु गरेका छन् । पर्यटकीय क्षेत्रको विकास गर्दै स्थानीय बेरोजगार युवालाई गाउँमै रोजगारी सृजना गर्दै नगरको आन्तरिक आयस्रोतलाई टेवा पुर्याउने उद्देश्यले दक्षिण एसियाकै सबैभन्दा ठूलो मानवनिर्मित बागमती माछा पोखरी(भरत ताल) निर्माण सुरु गरेको नगर प्रमुख थापाको समूहले एक सय २८ बिघा क्षेत्रफलमा नगर बगैँचा निर्माण गरेको छ भने एक सय २१ बिघामा फनपार्क निर्माण गरिरहेको छ ।
आफूले पर्यटकीय नगरीका रुपमा विकास गर्न चालेका सबै कदम अबको करिब तीन वर्षमा पूरा भएपछि कम्तीमा २० हजार स्थानीय बेरोजगार युवाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने बागमती नगरपालिकाका नगर प्रमुख थापाको दाबी छ । उनले गरेको कामले नै उनलाई सर्वसाधारणले विश्वास गरेको छन् ।
‘यो फिल्म लगभग बायोपिक हो,’ फिल्मका निर्माता खनालले भने, ‘अहिले सुटिङस्थल पहिचान र स्थलगत अवलोकन भइरहेको भए पनि फागुन पहिलो साताबाट फिल्म निर्माणको काम सुरु हुन्छ ।’ निर्देशक एवम निर्माता खनालले आगामी फिल्म ‘मेयर’को घोषणा गर्दा धेरैले काठमाडौँका मेयर बालेन्द्र साह (बालेन)लाई सम्झिए । तर खनालले अर्का एक मेयरमाथि बायोपिक फिल्म बनाउने भएका छन् । गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित नगर प्रमुख थापा दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन् । पहिलो कार्यकालमा नगर प्रमुख थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेले । ठूलो कृतिम तालको निर्माण गरी पर्यटक आकर्षणदेखि आम्दानी गर्नेसम्म बनाए । निर्देशक एवम निर्माता खनालको फिल्म ‘मेयर’को शीर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । खगेन्द्रले यो फिल्ममा सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख थापाको भूमिका निर्वाह गर्नेछन् ।
फिल्ममा नगर प्रमुख थापाको आनीबानी, हुलिया र स्वभावसँग खगेन्द्रको धेरै कुरा मिल्ने भएकाले खगेन्द्र अभिनेताको रुपमा अनुबन्धित भएको निर्देशक एवम निर्माता खनालले बताए । खगेन्द्रले केही दिनदेखि नगर प्रमुख थापाको आनीबानी र स्वभाव सिकिरहेका छन् । फिल्ममा खगेन्द्रले तन्नेरी अवस्थाका नगर प्रमुख थापा र अहिलेको उमेरको नगर प्रमुख थापा गरेर दुई चरणको पात्रको अभिनय गर्ने अर्का निर्माता एवम नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
पशुपतिप्रसाद, धनपति र भष्मे डनपछि दीपेन्द्र र खगेन्द्रबीच यो चौथो सहकार्य हो । फिल्म ‘मेयर’लाई नगर प्रमुख थापाका स्वकीय सचिव मैनाली र स्थानीय धु्रव चौलागाईंले निर्माताको भूमिका खेल्ने भएका हुन् । नगर प्रमुख थापाका स्वकीय सचिव मैनालीका अनुसार फिल्मको स्कृप्ट राम्रो बनेका कारण निर्देशक खनालले आफैँ निर्माता भएर काम गर्न लागेका हुन् ।

१२१ बिघा क्षेत्रफलमा मानवनिर्मित पोखरी
बागमती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रुपमा सुरु गरेको गौरवको आयोजना पोखरीको निर्माण कार्यको दुई चरण सम्पन्न भइसकेको छ । पहिलो चरण अन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य भएको र अहिले पोखरीको आधा भागमा पानी भरेर डुङ्गा सञ्चालनसमेत भइरहेको छ । दोस्रो र तेस्रो चरण अन्तर्गतको सौन्दर्यकरणको काम भइरहेको छ । दीर्घकालीन रुपमा नगरको आयश्रोतको रुपमा समेत प्रयोग गर्न सकिने गरी पोखरी परिकल्पना गरिएको नगरपालिकाले जनाएको छ ।
बागमती नगरपालिका–४ स्थित बागमतीको किनार बुढी बागमतीको नदी उकास जमिनमा पोखरी निर्माणाधीन रहेको नगर प्रमुख थापाले बताए । उनका अनुसार मानवनिर्मित पोखरी देशकै नमूना बन्ने छ । एक सय २१ बिघा क्षेत्रफलको मानवनिर्मित पोखरीमा माछापालनसँगै मुख्यरुपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको छ । निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा यहाँका नागरिकको रोजगारी अर्को ठूलो लक्ष्य बन्ने देखिन्छ । पोखरीमा बोटिङ, स्विमिङसगै पर्यटकका लागि आकर्षक होटल र खाजाघरसमेत निर्माण हुनेछ । पूर्वपश्चिम लोकमार्गबाट करिब २ किलोमिटरको दूरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्रामस्थलको रुपमा विकास गर्न सकिने नगरको योजना छ ।

पोखरी निर्माणको अर्को महत्वपूर्ण योजना स्थानीयस्तरमा रोजगारीको वातावरण पनि रहेकाले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउँने छन् । नगरले हरेक योजनामा नगरकै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णक्रममा समेत सैयौँ स्थानीयको गतिलो रोजगारीस्थलको रुपमा पोखरी निर्माणको काम भएको हो ।

२८ करोडको फनपार्क
नगरपालिकाले अर्को गौरवको आयोजना २८ करोड रुपैयाँको अत्यन्त सुविधासम्पन्न फनपार्क हो । यस क्षेत्रमा मात्र नभएर यस प्रदेशमै विशिष्ट सुविधासहितको फनपार्क बागमती नगरपालिकाले निर्माण आरम्भ गरेको छ । फनपार्क पनि निर्माणको करिब अन्तिम चरणमा पुगिसकेको छ । पहिलो चरणमा जग्गा अधिग्रहण, ठेक्का प्रकृया र यो काम सकेर अहिले फनपार्क निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।
फनपार्क बागमती नगरपालिका–११ स्थित बागमती नदी किनार बागमती सिँचाइको ब्यारेज उत्तर हरिहर क्षेत्रमा निर्माण हुनलागेको हो । करिब ६७ रोपनी क्षेत्रफलमा निर्माण हुने फनपार्कको अनुमानित लागत २८ करोड रुपैयाँ छ । फनपार्कमा सुविधासम्पन्न अतिथि गृहदेखि स्विमिङ पुल, पार्कभित्र बालबालिकाको लागि खेल्ने सामग्रीसहितको चिल्ड्रेन पार्क, पिकनिक स्पट, आकर्षक झर्ना, रेस्टुरेन्ट तथा बागमती किनारमा नदी सयरसमेत व्यवस्था रहने उल्लेख छ । पहिलो चरणमा पार्क निर्माणका लागि २४ करोड रुपैयाँ बजेटको काम सकिएको छ । यस पार्कको निर्माणले बागमती नगरपालिकाको मात्र नभएर सर्लाही जिल्ला तथा मधेश प्रदेशको पर्यटकीय विकास र स्थानीयको आर्थिक उपार्जनमा ठूलो महत्व राख्ने नगर प्रमुख थापाले बताए ।

१८० बिघाको नगर बगैँचा
नगरको अर्को गौरवको आयोजनाको रुपमा नगर बगैँचा रहेको छ । नगरपालिकाअन्तर्गत वडा नम्बर ३, ४ र ११ को १ सय ८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका विरुवा रोपिएको छ । नगरको आयआर्जनका रुपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सैयौँ नागरिकलाई रोजगारी सृजना गर्ने नगरपालिकाले जनाएकोे छ । बगैँचाका कारण नगरले उत्पादन हुने फलफूलका लागि अन्यत्र निर्भर हुन नपर्ने र नगरले वार्षिक करोडौँको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेको छ । यसरी कृषि, पशु, बजारलगायत व्यवस्थापनमा समेत नगरले मुख्यरुपमा ध्यान दिइरहेको छ ।

१८ करोडको आर्यघाट
बागमती नगरपालिका–१२ मा १८ करोड १४ लाख रुपैयाा लागतमा सुविधासम्पन्न आर्यघाट निर्माण सुरु भएको छ । छिमेकी स्थानीय तहको समन्वयमा बागमती नगरपालिका–१२ स्थित बागमती नदी किनारमा मधेश प्रदेशकै सबैभन्दा ठूलो र सुविधासम्पन्न आर्यघाट निर्माण सुरु भएको हो । बागमती नदी किनारमा सुविधासम्पन्न आर्यघाट नहुँदा स्थानीयले जताततै दाहसंस्कार गरिरहेको र मलामीलाई पनि दाहसंस्कार अवधिभर बस्ने सुरक्षित स्थान नभएको भन्दै गुनासो आएपछि बागमती नगरपालिकाले मधेश प्रदेशकै सबैभन्दा ठूलो सुविधासम्पन्न आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका नगर प्रमुख थापाले जानकारी दिए ।
एकै पटकमा १४ वटा शव दाहसंस्कार गर्न सकिने गरी करिब १० बिघा क्षेत्रफलमा १८ महिनामा सकिने गरी पृथ्वी इञ्जिनियरिङ एण्ड बिल्डर्सले आर्यघाट निर्माणको ठेक्का लिएको बागमती नगरपालिकाले जनाएको छ । नगरको गौरवको योजनाका रुपमा निर्माण सुरु गरिएको आर्यघाटमा शिवको मूर्ति, खेल मैदान, फूलबारी, शौचालय, गोठ, धारो, चौतारो, दाउरा स्टोर, प्रतीक्षालय र एसम्पीथियटरसहित बागमती नगरपालिकाले सुविधासम्पन्न आर्यघाट निर्माण सुरु गरेको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरालाल पुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button