
मधेशदृष्टि
काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि सत्ता गठबन्धनमा भएको सिट भागबन्डाका विषयमा असन्तुष्ट बनेको छ । सत्ता गठबन्धनको बैठकमा समाजवादीले तीन सिटको दाबी गरेको तर दुई सिट मात्र पाउने भएपछि असन्तुष्ट बनेको हो । आइतबार बिहान नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक बसेको थियो । सत्ता गठन्धनको बैठकमा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले १ सिटको भागबन्डा भए पनि एकीकृत समाजवादीले त्यसलाई अस्वीकार गर्दै आफूले ३ सिट पाउनुपर्ने अडान राख्दै आएको छ ।
त्यस्तै, राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्यको लागि पहल थाल्ने जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लागि पनि त्यो सम्भावना सकिएको छ । सत्ता गठबन्धनमा नै सिट बाडफाँडका विषयमा सहमति बन्न नसकिरहेको अवस्थामा राप्रपालाई पनि सघाउने सम्भावना नरहेको र त्यसका लागि ढिलो भइसकेको गठबन्धनका नेताहरुको भनाइ छ ।
यसअघि शनिबार बसेको राप्रपाको बैठकले गठबन्धनले एक सीटमा राप्रपालाई सघाएमा अन्य सीटमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने रणनीतिका साथ सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको थियो ।






