काफ्लेको बारामा साढे तीन महिना
पाँचलाख लिटर घरेलु मदिरा नष्ट
पाँचसय किलो लागूऔषध गाँजा बरामद
करछली गर्नेहरुबाट २५ करोडको सामान बरामद

प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले मधेश प्रदेशको बारा जिल्ला प्रमुखको कमाण्ड सम्हालेको साढे तीन महिना भयो । बाराको कमाण्ड सम्हालेको सुरुवातमै कलैयाको एक बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या प्रकरण र सिम्रौनगढ गोलीकाण्ड विवादले एसपी काफ्लेको नेतृत्व क्षमतामाथि प्रश्न उठ्यो । यीबाहेक बारामा अन्य थुप्रै घटना भए पनि छायामा परे । अहिले एसपी काफ्लेकै नेतृत्वमा अनुसन्धान सकेर प्रहरीले रुपेश हत्याकाण्डको मिसिल सरकारी वकिललाई बुझाइसकेको छ । रुपेश स्वर्णकार हत्याकाण्डसम्बन्धी मुद्दा अदालत प्रवेश गरे पनि पूरक अनुसन्धानका लागि बाटो खुलै छ ।
रुपेश स्वर्णकारको हत्यामा संलग्न भारतीय सुटर सुजित सिंहलाई प्रहरीले पुष १० गते राति करिब नौ बजे बाराको विश्रामपुरमा गोली हानेर नियन्त्रणमा लियो । सिंह विगत पाँचवर्षदेखि बारा र रौतहटका भएका विभिन्न आपराधिक घटनामा गोली प्रहारकर्ता ‘सार्प सुटर’ रहेको तथ्य बाहिरिएको छ । मधेश प्रदेशको शान्तिसुरक्षाका लागि नै चुनौती बनेका सिंह यतिबेला प्रहरी नियन्त्रणमा छन् । दुई वटा गोली लागेर घाइते ‘सार्प सुटर’ सिंहबाट अरु धेरै कुरा खुल्नसक्ने प्रहरीको अनुमान र विश्वास छ ।
सिम्रौनगढ घटनामा पनि प्रहरीले अनुसन्धान सकाएर मुद्दा अदालत पुगेको छ । कुनै पनि घटनाका विषयमा गहिरो अध्ययन नगरेसम्म अनुसन्धान फितलो हुने हुँदा यस्ता घटनामा अपराधीसम्म पुग्न केही समय लाग्ने गरेको एसपी काफ्लेको भनाइ छ । बाराको कमाण्ड सम्हालेको केही समयमै भएका यी घटनालाई लिएर एसपी काफ्ले भन्छन्, ‘बारा जिल्लामा आउनेबित्तिकै यहाँको आपराधिक गतिविधिबारे विश्लेषण गरिरहेको थिएँ, त्यहीबेला केही आपराधिक घटना पनि भएकाले जिल्लाको शान्ति सुरक्षामा चुनौती थपियो । तर, प्रहरीको सक्रियताले समयमा अपराधी नजिक पुग्न सफल भयौँ ।’
बाराको कमाण्ड सम्हालेदेखि नै कुरा भन्दा काममा विश्वास गरेको बताउँदै एसपी काफ्ले अहिले पनि त्यसैमा अडिक रहेको दोहोर्याउँछन् । शुक्रबार मधेशदृष्टिसँगको कुराकानीमा एसपी काफ्लेले भने, ‘जुन दिनदेखि बाराको कमाण्ड सम्हालेँ, त्यो दिनदेखि नै आफ्नो भिजनमा स्पष्ट छु । भनेर भन्दा काम गरेर देखाउँछु र रिजल्टमा विश्वास गर्छु ।’ खुला सिमानाका कारण पनि तराई मधेशमा आपराधिक गतिविधि बढेको सुरक्षा निकायको विश्लेषण छ । यस्तो अवस्थामा सुरक्षा निकायको निगरानी कम हुनेबित्तिकै अपराधीको मनोबल बढ्ने र आपराधिक घटना बढ्ने गरेका छन् । अझै कतिपय घटनामा नेपालमा अपराध कर्म गर्ने र भारतमा लुकेर बस्ने प्रवृत्ति देखिन्छ ।
खुला सिमानाका कारण बढ्दै गएको आपराधिक गतिविधिलाई लिएर एसपी काफ्लेले भने, ‘पारि (भारत)बाट आपराधिक मानसिकता भएका व्यक्तिले पैसामा यता (नेपाल)का जुनसुकै व्यक्तिलाई पनि हत्या गरिदिने र पारि (भारत) लुकेर बस्ने प्रवृत्ति छ । त्यो प्रवृत्ति अन्त्यका लागि पनि हामी लागिपरेका छौँ ।’ उनले सीमा क्षेत्रमा हुने गरेका अपराध नियन्त्रणका लागि नेपाल भारत दुवै देशका सुरक्षा निकायबीच पनि पटकपटक छलफल भइरहेको सुनाए । खुला सीमाना र लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनिरहेको बाराको सुरक्षा चुनौतीबारे प्रहरीले सुक्ष्म ढंगले निगरानी गरिरहेको उनले बताए । तस्करहरुसँग प्रहरीको साँठगाँठ र सम्झौता हुने विषयलाई काफ्लेले ठाडै अस्वीकार गरे । प्रहरीको बढ्दो सक्रियताले तराई मधेशका अधिकांश जिल्लामा अशान्ति फैलाइरहेका तत्व विस्तारै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्र्दै एसपी काफ्लेले नागरिकलाई धैर्य गर्न आग्रह गरे ।
काफ्लेको तीन साढे महिना
प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्ले बारा प्रहरी प्रमुखको नेतृत्वमा रहेको साढे तीन महिनाका अवधिमा भन्सार छलीबाट करिब २५ करोड रुपैयाँ बराबरको सामान बरामद भएको छ । प्रहरीका अनुसार भन्सार छलीमा सबैभन्दा बढी प्याज, चिनी, कपडालगायत अन्य खुद्रा सामग्री छन् । बारामा प्रहरीले विगत तीन महिनामा पाँच सय किलो गाँजा बरामद गरेको छ ।
यही अवधिमा पाँच लाख लिटर घरेलु मदिरा नष्ट गरेको छ । यसका साथै प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) नियन्त्रणमा पनि निगरानी बढाएको छ । तिब्र गति, ओभरटेक, सडकको अवस्था र हेलमेटविना सवारी चलाउँदा सवारी दुर्घटना बढिरहेकाले त्यसबारे पनि प्रहरीले सक्रियता बढाएको एसपी काफ्लेले बताए । उनका अनुसार लागूऔषध नियन्त्रण र महिला हिंसाविरुद्ध समुदायमा प्रहरी कार्यक्रम सञ्चालन भएको छ । यसबाहेक अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि पनि नागरिकलाई सचेत हुन उनले आग्रह गरे ।
भारतमा पुत्ला जलाइएका एसपी
सुरेश काफ्ले यस्ता प्रहरी अधिकृत हुन्, जसको भारतीय सहरमा पुत्ला जल्यो । रुपेश स्वर्णकार हत्याकाण्डमै प्रमुख योजनाकार किटानसहित मिडियामा प्रहरीको कुरा आएपछि योजनाकारमध्येका सदस्यले भारतीय सहरमा पत्रकार सम्मेलन गरे । एसपीको आरोप खण्डन गरे । त्यति मात्र होइन, भारतीय सहरमा काफ्लेविरुद्ध नाराबाजी भयो र पुत्लादहनसमेत भयो । यो काफ्लेलाई काममा कमजोर पार्न दिइएको मानसिक दबाब पनि थियो । तर काफ्लेले आफ्नो कमाण्डलाई विचलित हुन दिएनन् । काम गरिरहे । र उनी, हत्याकाण्डमा संलग्नलाई गोली दागेर नियन्त्रणमा लिन सफल भए । अरु धेरै अपराधमा संलग्नताबारे पनि उत्खनन्मा सफल भए ।







