
मधेशदृष्टि
सप्तरी ।
कृषि विश्वविद्यालयले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । मधेश सरकारको दीर्घकालीन गौरवको योजना अनुसार २०७८ मंसिर २७ मा स्थापिना भएको विश्वविद्यालयले आफ्नो दोस्रो स्थापना दिवस मनाएको हो । राजविराज नगरपालिका वडा नं.–३ मा अवस्थित विश्वविद्यालयको प्राङगणमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको हो ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा श्रीभगवान ठाकुरले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्मको अवस्थाको बारेमा चित्रण गर्दै भावी योजना तथा कार्यक्रमहरुबारे स्पष्ट पार्दै सत्ताइस बुंदे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले विश्वविद्यालय मधेशको मात्र नभएर समग्र देशकै नमुना बन्ने विश्वस व्यक्त गर्दै शुभकामना दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान आयोगको कार्यालय, तथा बरथ गण, सप्तरीका प्रमुखहरुको सहभागिता रहेको थियो । शिक्षक, अभिभावक, विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरु, पत्रकारहरुको उल्लासमय सहभागितामा विश्वविद्यालयका विद्यार्थीहरुले लोक संस्कृतिको मौलिकता झल्किने सामाचकेवा नृत्य, मैथिली सांस्कृतिक नृत्य, थारु नृत्य, कथा वाचन, कविता वाचन लगायतका मनोरञ्जनात्मक विधाहरुमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रम विश्वविद्यालयका उपकुलपति डा बैद्यनाथ महतोको अध्यक्षता तथा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका सचिव लक्ष्मी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो ।






