
सञ्जय मिश्रा
रौतहट ।
कटहरियामा दुई युवा समूहबीच ग्याङ फाइट हुँदा तीनजना घाइते भएका छन् । बुधबार राति ८ बजे कटहरिया नगरपालिका भवन छेउमा विवेक जैसवाल, अन्जित कुमार साह नेतृत्वको युवा समूहबीच ग्याङ फाइट भएको हाे ।
ग्याङ फाइटमा फलामको रड र कैंची हानाहान भएको स्थानीय प्रत्यक्षदर्शीले बताए । ग्याङ फाइटमा २० वर्षीय विवेक जैसवाल पछाडिबाट घाँटीमा कैँची प्रहारबाट गम्भीर घाइते भएका छन् ।
त्यस्तै, अर्को समूहको २० वर्षीय अन्जित कुमार साह र महेश कुशवाहाको टाउको तथा निधारमा फलामको रड प्रहारबाट घाइते भएका छन् ।
उनीहरूलाई कटहरियामा सामान्य उपचारपछि एम्बुलेन्सबाट थप उपचारको लागि राति नै वीरगनंज पठाइएको छ । घाइतेहरुको वीरगंजस्थित सूर्या अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सूर्या अस्पतालका डाक्टर सरोज कुमार सिंहका अनुसार घाइतेहरु खतरामुक्त छन् ।
आइतबार साँझ छठ पर्वको अवसरमा पूजा गर्न जाँदा कटहरिया ५ लालबकैया नदी किनारमा विवेक र अन्जितबीच कुनै विषयमा सामान्य भनाभन भएको थियो । त्यसको भोलिपल्ट सोमबार पिकनिक मनाउन जाँदा पनि उनीहरूबीच पुनः भनाभन भएको थियो । सोही विषय लिएर बुधबार साँझ दुवै समूहबीच भनाभन हुँदै ग्याङ फाइटमा परिणत भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई रामाछवेला यादवले बताए ।






