
सञ्जय मिश्रा
रौतहट ।
फतुवा विजयपुर नगरपालिकाको मूलगेटमा लगाइएको ताला फुटाएर बुधबार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले हाजिर गरेका छन् । कार्यबाहक मेयर अम्बेया खातुनको पहलमा स्थानीय प्रहरीप्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिकाको कार्यालयको मूलगेटमा लगाइएको ताला फुटाइएको हो ।
अधिकृत प्रधानलाई कार्यबाहक मेयर खातुनले टिका र माला लगाई स्वागत गरिन् । बुधबारदेखि नै प्रधानलाई नगरको प्रमुख प्रशासकिय अधिकृतका रूपमा कामकाज सुरु गराइन् । प्रमुख प्रशासकीय अधिकृत प्रधानले बिहीबारदेखि नै सम्बन्धितको बैंक खातामा सामाजिक सुरक्षा भत्ता पठाउन सुरु गर्ने र एक महिनाभित्र नगरको सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । ‘सबभन्दा पहिले सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु गरेर केही दिनभित्र कार्यपालिका बोर्डको बैठक बोलाएर नगरसभा तथा कर्मचारीको तलब वितरण गरी आर्थिक कारोबार सञ्चालन गराउनेछु,’ उपसचिव प्रधानले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २६ गते फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव प्रधानलाई जिम्मेवारी दिएर पठाएको थियो । मन्त्रालयको चिठीसहित हाजिर हुन आएका प्रधान नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको बिरोधका कारण हाजिर हुनसकेका थिएनन् । फतुवा विजयपुरमा कोरोनाकालमा प्रमुख प्रशासकीय अधिकृत रहिसकेका प्रधानले विभिन्न शीर्षकमा लाखौँ रुपैयाँ अनियमितता गरेको भन्दै केही वडा अध्यक्षले कार्यबाहक प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव नै हुनुपर्ने माग गरेका थिए ।
तर कार्यबाहक मेयर खातुनले प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव प्रधान आएपछि भ्रष्टाचार गर्न कठिन हुने र यादव हुँदा सहज हुने भएकाले मात्र उनीहरूले प्रधानमाथि त्यस्तो आरोप लगाएर बिरोध गरेको भन्दै खण्डन गरिन् । मेयर खातुन र केही वडा अध्यक्षबीच प्रमुख प्रशासकीय अधिकृतकै बिषयलाई लिएर तनाव बढेपछि वडा अध्यक्षहरुले केही कर्मचारी अगाडि सारेर दशैँअघि नै नगरपालिकाको कार्यालयमा तालाबन्दी गराएको वडा नम्बर ६ का अध्यक्ष सञ्जय यादवले बताए ।
झण्डै दुई महिनाअघि नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले लगाएको ताला बुधबार फुटाउनेक्रममा मेयर खातुन, वडा नम्बर २ का अध्यक्ष सञ्जय यादव, वडा नम्बर ६ का अध्यक्ष राम एकवाल यादव, वडा नम्बर १० का अध्यक्ष मञ्जय चौधरी, उपसचिव सुरेन्द्र प्रधानका साथै सैयौँ स्थानीय उपस्थित थिए । फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक मेयर खातुन र केही वडा अध्यक्षबीच तालमेल नमिलेका कारण असार १० गतेभित्र हुनुपर्ने नगरसभा झण्डै ६ महिना बित्न लाग्दासम्म हुनसकेको छैन । हालसम्म नगरसभा नभएका कारण नगरपालिकाको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएर झण्डै तीनसय ५० शिक्षक, कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् भने हिन्दूको महान पर्व दशैँ, तिहार, दीपावली, छठमा पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको नेकपा एमाले फतुवा विजयपुर नगर कमिटी सचिव सन्तोष कुमार साहले बताए ।
फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको टेन्डरमा नेपाली कांग्रेसबाट निर्वाचित तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि कांग्रेसकै उपमेयर खातुन कार्यबाहक बनेकी हुन् ।
निर्धारित समयमा किन भएन नगरसभा
असार १० गते नगरसभा गर्न कार्यपालिका बोर्डले गरेको निर्णयअनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले सूचना सार्वजनिक गरेका थिए । सोही सूचनाका आधारमा फतुवा विजयपुरको नगरसभा असार १० गते हुने भनेर कैयौँ मिडियाले समाचारसमेत सम्प्रेषण गरेका थिए । तर मात्र चारदिन नगरसभाको दिन बाँकी छँदा कांग्रेस पार्टीकै केही नेताले बलपूर्वक नगरसभा रोक्न लगाएको कार्यवाहक मेयर खातुनकी पति महमद सेराजले बताए ।
तत्कालीन मेयर यादवको पद अख्तियारबाट फुकुवा भएपछि उनकै अध्यक्षतामा नगरसभा गर्ने मनसायले कांग्रेसका केही ठूला नेताको इशारामा असार १० गतेको नगरसभा हुन नदिएका कारण हालसम्म नभएर नगरेको सम्पूर्ण आर्थिक कारोबार ठप्प भएर कर्मचारीले तलब पाउन नसकेको तथा सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको सेराजले गुनासो गरेका छन् ।
त्यतिमात्र नभएर फतुवा विजयपुर नगरपालिका सञ्चालन गर्न अन्य दलका निर्वाचित जनप्रतिनिधि तथा नेताले सहयोग गरिरहेका छन् भने कांग्रेसका निर्वाचित जनप्रतिनिधि र नेताले विभिन्न बखेडा बनाएर बाधा उत्पन्न गर्दै आएको मेयर खातुनकी पति सेराजले गुनासो गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको सिफारिसमा विशेष अदालतले फतुवा विजयपुरका तत्कालीन मेयर यादवलाई लालबकैया नदीको टेन्डरमा दोषी ठहर गर्दै तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना निर्णय भएको थियो ।
यसैबीच फतुवा विजयपुर नगरपालिका नियमित सञ्चालन गराउन सर्वदलीय बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संघर्ष समितिका अध्यक्ष नेकपा एमालेका प्रतिनिधि शिवपुजन यादवको नेतृत्वमा गएको सर्वदलीय टोलीले जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाएको थियो । संघर्ष समितिका अध्यक्ष यादवका अनुसार आज बिहबिार फतुवा विजयपुरमा प्रदर्शन गर्ने तथा नगरपालिका सुचारु नभए मंसिर ९ गतेदेखि चक्काजाम गर्दै नगरपालिका अगाडि धर्ना दिने कार्यक्रम रहेको थियो ।






