
मधेशदृष्टि
वीरगंज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द भएपछि सस्तो लोकप्रियताका लागि राजनीति गर्ने केही नेतामा रुवाबासी चलेको टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै त्यसको समर्थन र विरोधमा राजनीतिक दलहरुबाटै फरक प्रतिक्रिया आइरहेका छन् । पूर्व वनमन्त्रीसमेत रहेका जसपा प्रमुख सचेतक यादवले सरकारको निर्णयको समर्थन गर्दै बुधबार फेरि सामाजिक सञ्जाल फेसबुकमार्फत आफनो प्रतिक्रिया दिएका छन् ।
फेसबुकमा यादवले लेखेका छन्, ‘सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’लाई पचेको छैन ।किनकी टिकटककै कारण केही नेता रातोरात जन्मेका छन् । अहिले टिकटक बन्द हुदाँ ती नेताको निन्द्रा नै हराम भएको छ । यहाँसम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरुले पनि रोइलो गरिरहेका छन् । साइबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनीहरूमा रूवाबासी चलेको छ।’
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयले फेक आइडी खोलेर सस्तो लोकप्रियता कमाउने टिकटक विशेषज्ञ एवम् राजनीतिक मौसमविद्को सपना नै चकनाचूर भएको टिप्पणी गरेका छन् ।
सरकारबाट तिहारको ‘सर्प्राइज’ उपहारस्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताको चिन्ता असाध्यै बढेको भन्दै यादवले लेखेका छन्, ‘किनभने लामो समयदेखि टिकटकमार्फत भ्रम सृजना गरेर आम नेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ ।टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ।’
फेसबुक पोष्टमा यादवले लेखेका छन्, ‘टिकटकमार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङ लगायत अन्य आपराधिक गतिविधिको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ । एक तथ्याङ्कअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन् । यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ ।’
चिनिया प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको उनको भनाई छ ।






