‘प्रथम वीरगंज गोल्डकप फुटबल’मा प्रहरीलाई उपाधि

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

मधेश प्रदेशकै उच्च धनराशीको ‘प्रथम वीरगंज गोल्डकप फुटबल’को उपाधि नेपाल पुलिस क्लबको पोल्टामा गएको छ । शनिबार दिउँसो आदर्शनगर रंगशालामा भएको रोमाञ्चक फाइनल स्पर्धामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई टाइबेकरमा २–० ले हराउँदै नेपाल पुलिस क्लब विजयी भएको हो । उपाधीसँग पुलिसले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पार्एको छ भने उपविजेता त्रिभुवन आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पाएको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम नतिजा टाइबेकरबाट निकालिएको थियो । टाइबेकरमा आर्मीका चारै जना स्टाइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो ।

टाइबेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तमांगले गोल गरे भने उज्वल राईको पेनाल्टी सुट आर्मीका गोल रक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए । टाइबेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोष्टको सेकेण्ड बार बाहिर गयो भने बिमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक सत्रुधन चौधरीले रोकिदिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोष्टको बारमा लागेर फर्किएको थियो ।

यसअघि निर्धारित समयको खेलमा भने आर्मीमाथि पुलिसका खेलाडी तुलनात्मक रुपमा हाबी भए पनि गोल गर्न भने असफल भएका थिए । खेलको ३६ औं मिनेटमा पुलिसका उज्वल राईले पुलिसको डिबक्स छेउबाटै गरेको प्रहार पोलको नजिकैबाट बाहिर गएको थियो । खेलको ४० औं मिनेटमा फेरि उज्वलले नै डिबक्सभित्रबाट गरेको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर गोल हुनबाट जोगाएका थिए ।

खेलको ५५ मिनेटमापनि पुलिसले गोल गर्ने अवसर गुमाउन पुगेको थियो । प्रताप गुरुङले पास गरेर दिएको बल विवेक सन्तोषीले आर्मीका गोलरक्षक विकेशलाई छल्दै अगाडि बढाइसकेको भए पनि आर्मीका रक्षापंक्तिले क्लियर गरिदिएको थियो । ६९ औं मिनेटमा भने आर्मीले पनि गोल गर्ने अवसर पाए पनि खेर फालेको थियो । सन्तोष केसीले गरेको प्रहारमा आशीक बाबु चौधरीले गरेको हेड पुलिसको बारमाथिबाट बाहिरिन पुगेको थियो ।

फाइनल खेलमा टाइबेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक सुत्रुधन चौधरी फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै सत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भए ।

उनीहरुलाई जनही २०–२० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनलेप नि नगद २० हजार रुपैयाँ प्राप्त गरे । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधि विजेता र उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गरे । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह लगायत उपस्थित थिए ।
वीरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा भेट्रान सिटी क्लब वीरगन्जले कार्तिक १८ गतेदेखि गरेको प्रतियोगितामा नेपालका ६ र भारतका दुई टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button