

प्रिय पाठक,
मधेशदृष्टि दैनिक आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । सर्वप्रथमतः यस अवसरमा यहाँमा यो खुशी बाँड्न चाहन्छौँ । ‘नजर हमर’को सिद्धान्त आत्मसात् गर्दै मधेशदृष्टि प्रकाशन आरम्भ गरिरहँदा देशमै सबैभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका ६१ लाख २६ हजार २ सय ८८ नागरिकमा यो अखबार समर्पित गर्ने हाम्रो सपनामा कहिल्यै पनि आँच पुग्न दिएनौँ । बस्तीका विभेदविरुद्ध लेखिरह्यौँ । असमानताविरुद्ध बोलिरह्यौँ । मधेश सरकार बलियो होस्, अब्बल नेतृत्वले मधेशको उन्नयनमा काम गरिरहोस् र निरपेक्ष गरिबी, अशिक्षा, कुपोषण र रोजगारी अभावमा बाँचिरहेकाको आवाज सम्बोधन होस् भनेर राम्रा काममा साझेदारी र नराम्रा पाटोमा खबरदारी पनि गरिरह्यौँ । उसो त स्थानीय तहमा देखिएका विकृति, विसंगति, कर्मचारी अभाव, जनप्रतिनिधिको नेतृत्व क्षमता, राजनीतिक दलहरुको स्वार्थका कारण स्थानीय तहको काममा बाधा र कतै मिलेमतोबारे पनि हामीले कठोर भएर कलम चलायौँ । यो हाम्रो प्रकरण ‘नजर हमर’कै लामो यात्राको चुनौतीपूर्ण अध्याय थियो । प्रहरी, प्रशासनका कामकारबाहीबारे पनि निरन्तर हामीले सञ्चार गरिरह्यौँ । देश र मधेशको अर्थतन्त्र, मधेशमा पानीको हाहाकारबारे सबैभन्दा बढी कभरेज गर्नपर्छ भन्ने मान्यतामा हामी अडिग रह्यौँ ।
एक त अखबारको बजार घट्दो छ, अर्कातिर अखबारमा प्रशंसागान चाहने शासक र कर्मचारी तथा दलका नेताहरुको चाहना हामीबाट पूरा हुन सक्दैन । ऐनमौकामा पुख्ता प्रमाणसहित कठोर भएर समाचार लेख्दा पाठक र मधेशका जनताले दिएको प्रशंसाले हामी उत्साहित भएर उडान भरिरहेका थियौँ भने कोरोना, डेंगु र मन्दीका कारण सुस्ताएको विज्ञापन बजारमा स्रोतसाधन भएकाहरुलाई कठोर प्रहारले हामी स्वाभाविकरुपमा उपलब्ध हुने सूचना, विज्ञापन, सन्देशमा एक हिसाबले अदृश्यरुपमा असहयोगको सूचीमा थियौँ नै । फेरि पनि हिम्मत नहारी सत्य पर्गेल्ने, पस्कने र समाजका अँध्यारा पाटो बाहिर ल्याउने काममा लागिरह्यौँ । किनभने पत्रकारितको सिद्धान्त र हाम्रो यात्राको मूल उद्देश्य यही थियो र बजार अभाव छ भन्ने चुनौती जानेर पनि पत्रिका आरम्भ गरेका थियौँ । यस्तो अवस्थामा हामीले गरेको कामले धेरै विकृति, विसंगति, आचरण, सुशासनमा सुधार पनि भएको छ । समाचार प्रवाहपछि सरोकारवाला सुध्रिने, बदमासी गर्न हच्किने मात्र होइन, पीडितले न्याय पाउने कामले पक्कै हाम्रो प्रयास ठिक बाटोमा हिँडिरहेको छ भन्ने हामीलाई पनि लाग्यो ।
यो ३ सय ६५ दिनमा हामीले ३ सय ५३ अंक पत्रिका प्रकाशन गरेका छौँ । अर्थात् जम्मा १२ दिन विभिन्न राष्ट्रिय, धार्मिक चाडपर्वमा यहाँसम्म आउन सकेनौँ । साउनदेखि हामीले शनिबारीयरुपमा ‘वैभव’ परिशिष्टांक आरम्भ गरेका छौँ । भाषामा शुद्धता, एकरुपता, अपराध न्यूनीकरणमा सत्प्रयाससँगै देशसँग मधेशको अपेक्षा र मधेशसँग देशको आसाको पुलका रुपमा हामी निरन्तर सञ्चार प्रवाह गरिरहने वाचा गर्दछौँ । पत्रिका आरम्भदेखि अहिलेसम्म साथ दिनु भएकामा हाम्रा पाठक, विज्ञापनदाता, कर्मचारी, शुभेच्छुक, स्थापनाकालका कर्मचारी, पत्रकारसँगै सबै–सबैमा आभार प्रकट गर्न चाहन्छौँ । सामाजिक सञ्जालले स्थापित गरिरहेको नागरिक पत्रकारिताले जसरी नेपाली छापामाध्यम, रेडियो र टेलिभिजनहरु थला परेका छन् । यस्तो बेला पनि हामी उत्साहको बेलुन भरेर सुशासनका पक्षमा, मधेशका जनताको दैनिकीसँग जोडिएर निरन्तर स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको मधेशका मुद्दामा पेटबोली बनेर उभिइरहने छौँ । यो अखबार मधेशका जनताको हो भन्ने देखाउन जमर्को गरिरहने छौँ । यहाँहरुको साथ, सहयोग, शुभेच्छाले हाम्रो उडानमा उत्साहको बेलुन भरिरहोस् । हामी चैँ मधेशको पत्रकारितामा सम्भावना छ भनेर उत्साहको बेलुन भर्न प्रयासरत रहनेछौँ । नेपालीको महान पर्व धनतेरस, दीपावली, नेपाल सम्वत्, म्हपूजा र छठ पर्वको शुभकामनासहित ।





