४५ प्रतिशत कमिसन व्यवस्था हटाउनु पर्छः साह

[mashshare]

मधेशदृष्टि
बारा ।

पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले सुराकीका नाममा भन्सार कार्यालयले दिने गरेको ४५ प्रतिशत कमिसनको व्यवस्था भन्सार नियमावलीबाट हटाउनु पर्ने माग गरेका छन् । बडादशैँ, तिहार तथा छठको अवसरमा आमजनता पार्टी बाराद्वारा बिहीबार पर्सौनी बजारमा आयोजित शुभकामना तथा बृहत सभामा उनले भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेज हुनुपर्ने दोहोर्याए ।

भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण मधेशमा हजारौं सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन नेता साहले जोड दिए ।

अप्रत्यक्ष मिलोमतोका कारण ठूलो परिमाणमा तस्करले अवैधरुपमा भित्र्याउने सामानप्रति प्रहरी प्रशासनले नियन्त्रणमा लिन चासो नलिने गरेको समेत उनले आरोप लगाए । तर मधेश प्रदेशका मानिस आफ्नो खेतमा प्रयोग गर्न बीउ, कीटनाशक, मलखाद, दैनिक उपभोग्य वस्तुका साथै चाडपर्वमा सीमावर्ति भारतीय बजारबाट घरका लागि कपडा ल्याउँदा पनि भन्सार छलीको भन्दै नियन्त्रणमा लिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कहिल्यै पछि नपर्ने पूर्वमन्त्री साहले जिकिर गरे ।

४५ प्रतिशत कमिसनकै लागि प्रहरीले सर्वसाधारणको सामान नियन्त्रणमा लिएर भन्सार पुर्याउँदा बर्सेनी हजारौँ नागरिक समस्यामा परिरहेकाले त्यस्ता विधेयक तत्काल हटाउन उनले सरकारसँग माग गरे । पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले समेत सुराकीका नाममा भन्सारले दिनेगरेको ४५ प्रतिशत कमिसनको कारण मधेश प्रदेशमा ठूलो समस्या भएकै कारण पछिल्लो लामोसमय देखि विधेयक हटाउन पार्टीले पटकपटक बिरोध प्रदर्शन गर्नुका साथै कैयौँपटक भन्सार विभाग घेराउ समेत गरेको जानकारी गराए ।

कार्यक्रममा आमजनता पार्टीको केन्द्रीय सचिव पूर्वसांसद समीना हुसेन, जिल्ला इन्चार्ज त्रिभुवन साह, जिल्ला अध्यक्ष एवम देवाहीगोनाही नगरपालिकाको पूर्व मेयर धर्मेन्द्र पटेल, आम महिला मोर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, नेता श्रीभग्वान पटेल, अनिल झा, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, महिला नेतृ बबिता यादव, रञ्जु साहलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button