नयाँ व्यवस्था जरुरी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

आम जनता पार्टीले वर्तमान व्यवस्थाले जनताको चाहना पूरा गर्न नसकेको जनाएको छ । पार्टी प्रवक्ता चन्द्रभूषण साहले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था ल्याउने कामका लागि सबैलाई एक हुन आग्रह गरेको छ ।

पार्टीले नेपालको संविधान जारी हुँदादेखि नै दुई पक्षमा जनमत विभाजन भएको र अहिलेसम्म संविधान सबैका लागि बन्न नसकेको टिप्पणी गर्दै संविधान दिवस मान्ने नमान्ने विषयमा नयाँ व्यवस्था अपरिहार्य भएको जनाएको हो ।

पार्टीको प्रेस विज्ञप्तिः

संविधान सभाबाट नेपालको संविधान जारी हुँदै गर्दा देश मुख्यतः दुई चिरामा विभाजन भएको थियो । एउटा पक्षले यो संविधान विश्वकै सर्वोत्कृष्ट संविधान हो भनेर रट लगाउँदै दीपावली मनाउँदै थिए भने अर्को पक्षले यो संविधान विगतको राजनीतिक प्रतिबद्धता र आफ्नो निर्दिष्ट लक्ष्यबाट विमुख भएकोले यसलाई मान्न सकिँदैन भनेर असोज तीन (३) कालो दिनको रुपमा ब्लॉक आउट गरेर आन्दोलन गर्दै थिए। जसले गर्दा संविधान घोषणाको पहिलो गाँसमै ढुङ्गा परेजस्तो भयो ।

नेपालको संविधान निर्माण पश्चात् यसको सफल कार्यान्वयनमार्फत देशबाट संक्रमणकाल र राजनीतिक द्वन्द्वको अन्त्यसहित स्थिरता, सुशासन, बदलाव र विकासले गति लिने अपेक्षा गरिएको थियो तर विडम्बना यसको विपरीत गलत संवैधानिक प्रावधानहरूले गर्दा देशमा दिनप्रतिदिन राजनीतिक एवम् आर्थिक संकट बढ्दै जानु, धार्मिक, संस्कृतिक एवम् साम्प्रदायिक हिंसाको माहौल बढ्दै जानु, राज्य भ्रष्टाचार एवम् कुशासनको दुष्चक्रमा फस्नु, लोकतन्त्रको स्थानमा दलीय लुटतन्त्र (दलतन्त्र) क्रियाशील रहनु, स्थिरता, बदलाव, विकास र समृद्धिको सपना चक्नाचुर हुनु अर्थात समग्रमा भन्नुपर्दा संवैधानिक दोषहरुको कारणले गर्दा देश अग्रगति भन्दापनि अधोगतितर्फ लागेको देखिन्छ ।

नेपालको संविधान कुनै निश्चित दर्शन, सिद्धान्त र शासन प्रणालीमा आधारित नभई राजनीतिक भागबण्डा (लेनदेन) को आधारमा भएकोले संविधान कार्यन्वयनको पहिलो दशकमा नै यसले आफ्नो दुर्गुणहरु देखाउन थालिसकेको छ । देशमा सन्तुलित गाँस, सुरक्षित आवास, राम्रो कपास, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य उपाचार, भरपर्दो रोजगारी जस्ता आधरभूत मौलिकहकहरुको समेत सफल कार्यान्वयन हुन सकिरहेको छैन् । देश अराजकता र सिन्डिकेटवादको दलदलीमा फस्दै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व आदि सबै केवल हात्तीको देखाउने दात्तमा सिमित रहेको छ । अर्थात, रुपमा व्यवस्था परिवर्तन भएको देखिएतापनि सारतः कार्यान्वयनमा उही पुरानोभन्दा पनि विकृत गण्डा व्यवस्था छ । यस मृत संवैधानिक व्यवस्थाहरुको समयमैं अन्त्येष्टि नगर्ने हो भने यसको बढ्दो दुर्गन्धले देश र जनतालाई अझ अस्वस्थ बनाई थप दुःख पीडा दिने निश्चित छ ।

नीति, नियत र नेतृत्वको समष्टिगत रुप नै नतीजा हुने भएकाले अवस्थालाई व्यवस्थासँग अलग गर्न मिल्दैन । तसर्थ, यस गलत एवम् विकृत संविधानको भण्डाफोर गर्दै यथाशीघ्र मुलुक र आम जनताको दीर्घकालिक हितको प्राप्ति, रक्षा एवम् विकास हुन सक्ने गरी आम नेपाली जनताको मनोभाव तथा विभिन्न परिवर्तनका आन्दोलनहरुको मुलमर्म अनुरूपको नयाँ व्यवस्था ल्याउनतर्फ अग्रसर हुन तपाईं सम्पूर्ण आदरणीय न्यायप्रेमी तथा देशभक्त जनसमुदाय, युवाविद्यार्थी, पत्रकार, समाजसेवी, शिक्षक, सुरक्षाकर्मी, नागरिक अगुवा, बुद्दिजीवी, उद्योगी( व्यापारी लगायतका सबै पेशाकर्मीमा हार्दिक अनुरोध र अपिल गर्दछु । धन्यवाद ।

चन्द्र भुषण साह
केन्द्रीय प्रवक्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button